सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट बक्यौता रकम नपाएको उखु किसानहरुको गुनासो

कर्णाली दृष्टि संवादाता ६ माघ २०७७, मंगलवार ०९:२३

फाइल तस्वीर

काठमाडौंः चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट सबै बक्यौता रकम नपाएको उखु किसानहरुले गुनासो गरेका छन् ।

केही मिलबाट भुक्तानी सुरु भए पनि तोकिएकै समयमा सबै रकम भुक्तानी गरिदिन सरकारले गरेको सहमति पालना नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।
२१ दिनभित्र किसानले दाबी गरेको बक्यौता भुक्तानी गर्ने सहमतिपछि पुस १३ गते किसानहरुले दुई साता लामो काठमाडौं केन्द्रित आन्दोलन स्थगित गरेर घर फर्किएका थिए । ‘मन्त्रालयमा सोध्दा सबै रकम भुक्तानी निश्चित भएको जवाफ आउँछ तर तीन साता बित्यो किसानको खातामा सबै पैसा आएको छैन,’ मिश्रले भने, ‘सरकारले पैसा नदिलाएर यस पटक पनि झुट बोल्यो ।’ आन्दोलन जारी रहँदाको समयमा भुक्तानी तीव्र भए पनि त्यसपछि भने उद्योगहरुले भुक्तानी कम गर्दै लगेको उनको आरोप छ ।

उद्योगीले दिएको तथ्यांकका आधारमा सरकारले किसानले भुक्तानी पाएको प्रचार गरेर झुट बोलेको संघर्ष समितिका सचिव हरिश्याम राय यादवले बताए । करोडौं रकम किसानले पाएको प्रचार गरेर सरकारले उद्योगीको बचाउ गरेको तर किसानले सबै बक्यौता नपाएको रायको भनाइ छ ।

संघर्ष समितिले प्रारम्भिक रुपमा संकलन गरेको विवरणमा किसानले सबै रकम भुक्तानी नपाएको समितिले जनाएको छ । २१ दिनभित्र सबै रकम भुक्तानी नभए २२ औं दिनबाट उद्योगीको जायजेथा उद्योग मन्त्रालयले जफत गरेर भए पनि किसानलाई रकम उपलब्ध गराउने मौखिक सहमति किसान प्रतिनिधिहरुसँग भएको संरक्षक मिश्रको दाबी छ । उद्योगीले सबै रकम भुक्तानीको सुनिश्चितता मन्त्रालयमार्फत गरेको बताइए पनि किसान प्रतिनिधिले कुनै आधार नपाएको उनले बताए ।

गृह मन्त्रालय भन्छ( भुक्तानी सन्तोषजनक छ

सम्झौता बमोजिम रकम नपाएको गुनासो किसानले गरिरहँदा गृह मन्त्रालयले भने भुक्तानी सन्तोषजनक रहेको दाबी गरेको छ । सोमबार साँझसम्म गृहमन्त्रालयमा प्राप्त विवरण अनुसार कुल बक्यौताको झण्डै ७३ प्रतिशत रकम किसानको खातामा पठाइएको मन्त्रालयले जनाएको छ ।

चार उद्योगबाट ७० करोड ५८ लाख बक्यौता रहेकोमा ५१ करोड ३८ लाख रुपैयाँ किसानको खातामा पठाइएको गृहमन्त्रायका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए । भुक्तानी बाँकी रहेको १९ करोड दुई लाख रुपैयाँ किसानलाई उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र अन्य मन्त्रालयसँग समन्वय भइरहेको पनि लामिछानेले बताए ।

कुन मिलले कति भुक्तानी गरे ?

बक्यौता बाँकी रहेका ४ मिलमध्ये श्रीराम सुगर मिलले तोकिएकै समयमा सबै रकम भुक्तानी गरेको छ भने अन्य मिलको भने बाँकी देखिएको गृहमन्त्रालयले जनाएको छ ।
श्रीराम सुगर मिलले ४० करोड ४६ लाख भुक्तानी गर्नुपर्नेमा ३५ करोड ७५ लाख ४४ हजार किसानको खातामा गएको छ भने ४ करोड ७० लाख ५६ हजार रूपैयाँ किसानको विवरण नमिल्दा बैंकमा रोकिएको छ ।

लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख भुक्तानी गर्नुपर्नेमा ४ करोड १६ लाख तिरेको छ भने बाँकी ४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी छ ।

अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा ११ करोड २७ लाख किसानको खातामा पठाएको छ भने ५ करोड ७३ लाख रुपैयाँ अझै बक्यौता बाँकी छ ।

यस्तै इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्नुपर्नेमा १ करोड ५० लाख रूपैयाँ बैंक खातामा पठाएको छ । अब उक्त उद्योगले ३ करोड २० लाख रुपैयाँ खातामा पठाउनु पर्ने गृहका सूचना अधिकारी लामिछानेले बताए ।

Next Post

सर्टिफिकेट धितोमा जम्मा ८५ जनालाई सहुलियत ऋण, युवा स्वरोजगारतर्फ शून्य

६ माघ २०७७, मंगलवार ०९:२३
काठमाडौ :देशमै उद्यमशीलता बढाउन र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न भन्दै सरकारले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो । आर्थिक वर्ष २०७५/७६ को बजेटमा उल्लेख भएको यो कार्यक्रमलाई २०७५ सालको मौद्रिक नीतिमा समावेश गरियो र नेपाल राष्ट्र बैंकले त्यसै वर्षको कात्तिकमा कार्यविधि जारी गरेको थियो । […]