नेपालगञ्ज :यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् ।पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्ज हुँदै कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधासम्पन्न होटल खुलेका छन् । कोरोनाका कारण लगभग शून्यमा झरेका यहाँका होटलले पुरानै लयमा फर्किन लागेका हुन् ।
होटल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष भीमप्रसाद कँडेलका अनुसार एक दशकयता यहाँ पाँचतारे, चारतारे र तीन तारेसहितदर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् ।
सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको पाइन्छ । ‘पछिल्लो समय लगभग थला परेको अवस्थामा पुगेका नेपालगञ्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेका छन्’, उनले भने ।
साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको यहाँका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट उम्कन नपाउँदै उनीहरुलाई ११ महिनाको लकडाउनले थप कठिन मोडमा पुर्याइदिएको छ ।
सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्दै आएको थियो ।
लकडाउन सकिएपछि होटल व्यवसायीले लिएको घर भाडामा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले घरधनीसँग छुट गराएको थियो । व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको होटल व्यवसायी सन्तोष गुप्ताले बताए ।
यहाँको होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँको होटल निकै स्तरीय छन् । लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।
अध्यक्ष कँडेलका अनुसार नेपालगञ्जमा ठूला तथा स्तरीय होटल तथा पर्यटन व्यवसायमा पछिल्लो पाँच वर्षयता करीब रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यहाँको होटल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगञ्जमा मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगञ्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्तिताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएको छ ।
यसैगरी नाटा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगञ्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याएको बताइएको छ ।