
कालीकोट । वर्षासँगै आएको बाढी र पहिरोका कारण कालीकोटको नरहरिनाथ गाउँपालिकामा निर्माणाधीन सडक आयोजनामा ठूलो क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास कार्यालय सुर्खेतमार्फत सञ्चालन भइरहेको सिमखेती–लमारिता–धन्नुकोट हुँदै वडा कार्यालयसम्मको सडक स्तरोन्नति आयोजनामा वर्षाले निर्माण सामग्री तथा उपकरण बगाउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
वडा अध्यक्ष पौरामे विश्वकर्माका अनुसार डीबीसी कन्स्ट्रक्सन प्रालि, नेपालगञ्जले आर्थिक वर्ष २०८२+,८३ मा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइरहेको अवस्थामा अविरल वर्षाले आयोजनास्थलमा क्षति पुर्याएको हो । बाढी तथा पहिरोका कारण ३२० बोरा सिमेन्ट, ४० थान वाटरप्रुफ प्लाई, तीन ड्रम डिजेलसहित विभिन्न निर्माण सामग्री नष्ट भएका छन् । साथै सडक सुरक्षाका लागि जडान गरिएका जाली तथा निर्माणका लागि तयारी अवस्थामा रहेका संरचनासमेत बगाएको जनाइएको छ ।
आयोजनाका प्रतिनिधि हंशबहादुर शाहीका अनुसार क्षतिको विस्तृत विवरण संकलन तथा मूल्याङ्कन कार्य जारी छ । सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गरी वास्तविक क्षतिको यकिन विवरण तयार गरिरहेको जनाएको छ । अविरल वर्षाका कारण निर्माण कार्यसमेत प्रभावित भएको छ। स्थानीयवासीले वर्षायाममा सडक आयोजनाको सुरक्षाका लागि थप सावधानी अपनाउन र क्षति न्यूनीकरणका उपाय प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।


