बालविवाह अन्त्यका लागी कर्णालीमा कार्यशाला

कर्णाली दृष्टि संवाददाता २ असार २०८३, मंगलवार १९:४२

सुर्खेत । कर्णालीमा बालविवाहको विद्यमान अवस्थालाई अन्त्य गर्न तथा हालै स्वीकृत बालविवाह अन्त्य सम्बन्धी रणनीति, २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सरकार, प्रदेश सभा, योजना आयोग, नागरिक समाज तथा विकास साझेदार संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यशालालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले बालविवाह सामाजिक कलंक मात्र नभई समग्र विकासको प्रमुख बाधक रहेको बताए ।

उनले बालविवाह अन्त्यका लागि प्रदेश सरकारले स्पष्ट प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै रणनीतिको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकार, नागरिक समाज, सञ्चार क्षेत्र तथा अन्य सरोकारवालाहरूबीच बलियो सहकार्य आवश्यक रहेको बताए । राज्यका सबै संयन्त्रलाई अभियानमा सक्रिय रूपमा जोडिन समेत उनले आग्रह गरे । कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य अशोक नाथ योगी लगायत विभिन्न निकायका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

आयोगका तर्फबाट रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध ढंगले अगाडि बढ्ने, आवश्यक स्रोत व्यवस्थापन गर्ने तथा सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । गोष्ठीमा सहभागी प्रदेश सभा सदस्यहरू, सरकारी अधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू तथा सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूले बालविवाह अन्त्य सम्बन्धी रणनीति कागजमा मात्र सीमित नरही समुदायस्तरमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले रणनीतिका लक्ष्य र कार्यक्रमहरू स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन भएमा बालविवाह न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरेका थिए । कार्यशालाको आयोजना CCR Karnali ले गरेको थियो भने Plan International Nepal लगायत विभिन्न साझेदार संस्थाहरूले प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान गरेका थिए। कार्यक्रमले बालविवाह अन्त्यका लागि बहुपक्षीय सहकार्य, साझा प्रतिबद्धता र रणनीतिक कार्ययोजनाको आवश्यकतालाई थप स्पष्ट बनाएको सहभागीहरूले बताएका छन् ।