गिडिदहमा पर्या–पर्यटन तथा जलवायु सम्मेलन सम्पन्न

कर्णालीदृष्टि संवाददाता २ असार २०८३, मंगलवार ०९:१६

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका चार स्थित गिडिदहमा पहिलो पटक पर्या–पर्यटन तथा जलवायु सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिगो पर्यटन विकास, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणलाई केन्द्रमा राख्दै “गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु घोषणापत्र–२०८३” जारी गरेको छ । ‘प्रकृति हेरौँ, महसुस गरौँ, पर्यापर्यटन प्रवर्द्धनमा जुटौँ’ भन्ने नारासहित आयोजित सम्मेलनमा स्थानीयवासी, विद्यार्थी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्मेलनबाट जारी १५ बुँदे घोषणापत्रमा गिडिदह र आसपासका जलाधार क्षेत्रको संरक्षण, वन्यजन्तुको बासस्थान जोगाउने, जैविक विविधता संरक्षण तथा चरन क्षेत्रको व्यवस्थित उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार गिडिदहलाई वातावरणमैत्री पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्लास्टिक निषेध क्षेत्र घोषणा गर्ने, शून्य फोहोर व्यवस्थापन रणनीति लागू गर्ने तथा पदमार्ग निर्माणलाई अघि बढाउने योजना छ । निर्माण हुने पूर्वाधारमा कंक्रिट र सिमेन्टको प्रयोग घटाउँदै प्रकृतिमैत्री संरचनालाई प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ ।

 

सम्मेलनले स्थानीय आर्थिक विकासलाई पर्यटनसँग जोड्ने लक्ष्यसमेत लिएको छ । रैथाने बस्तीहरूमा सामुदायिक होमस्टे सञ्चालन गर्ने, स्थानीय कला–संस्कृति र अर्गानिक खाद्य परिकारको प्रवर्द्धन गर्ने तथा युवालाई ‘क्लाइमेट गाइड’ का रूपमा परिचालन गरी रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ । घोषणापत्रमा रैथाने कृषि प्रणाली संरक्षण, खाद्य सुरक्षाको प्रवर्द्धन, वन तथा जडीबुटी संरक्षण, डढेलो नियन्त्रण र जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता पनि समेटिएको छ । साथै, जलवायु न्यायका लागि तीनै तहका सरकारबीच समन्वय गर्नुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनका अवसरमा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता तथा जिल्ला स्तरीय देउडा प्रतियोगिता पनि आयोजना गरिएको थियो। आयोजकका अनुसार यस्ता गतिविधिले जलवायु परिवर्तनका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको हो । गिडिदह समुद्री सतहबाट करिब ३ हजार चार सय ८५ मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक महत्वका कारण यो क्षेत्र जुम्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । यहाँ पदमार्ग, धर्मशाला, सूचना बोर्ड लगायत पूर्वाधार निर्माणमा हालसम्म उल्लेख्य लगानी भइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार