काठमाडौं :मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् ।
अस्पताल र परिवारका सदस्यले पुष्टि नगरिकन केही सञ्चारमाध्यमले उहाँको बारेमा अनावश्यक खबर छापेका दाजु राजुराज जोशीले बताए । राजुराज जोशीले भने –‘सञ्चारमाध्यममा हामीले पुष्टि नगरेको खबर आयो, यो गलत हो । उनको अहिले पनि भेन्टिलेरटमा नै राखेर उपचार भइरहेको छ ।’
नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था भने जटिल छ । उनका सहयोगी पुष्कर पाण्डेले जोशीको स्वास्थ्य गम्भीर रहेको तर बाहिर हल्ला आए जस्तो नभएको बताए । जोशीको मस्तिष्क समस्या भएको, प्रेसर लो भएको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएकाछन ।
गएको फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उहाँले अवस्थाबारे जानकारी दिन अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।