रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

कर्णालीदृष्टी संवाददाता ८ मंसिर २०७८, बुधबार ०६:५५

सुर्खेत । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।

आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताउनुभयो ।

आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको बताउदै उहाले मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको रहेको बताउनुभयो ।

निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उहाको भनाइ छ । आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौताअनुसार २०७९ भदौसम्म निर्माण पूरा गर्नुपर्नेछ ।

हालसम्म रुख कटान सुरु भएको छैन। रुख कटान नहुँदा टावर निर्माणको काम प्रभावित भएको छ । २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले यही भदौ तेस्रो सातादेखि निर्माणको काम थालेको हो ।

रुख कटानको अनुमति पाउन ढिलाइ हुँदा आयोजनाले जहाँ जंगल क्षेत्र छैन त्यस्ता ठाउँमा मात्र टावर निर्माणको काम गरिरहेको छ । हालसम्म १३ स्थानमा टावरको जग निर्माण गरिसकेको छ । झण्डै ५२ किमी दूरी रहेको सो प्रसारण लाइनमा डबल सर्किटका १६१ टावर निर्माण गर्नुपर्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट रुख कटानको स्वीकृति पाएलगत्तै आयोजनाले रुख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया सुरु गर्नेछ ।

अबको १० महिनाभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्छ, आयोजना प्रमुख चौधरीले भन्नुभयो, ‘रुख कटानमा ढिलाइ भए प्रसारण लाइन निर्माणको अवधि लम्बिन सक्छ ।

उहाका अनुसार विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुंगो लागिसकेको छ । सुर्खेतको छिन्चु र बाँकेको चिसापानी गाभरमा स्थानीयवासीको असहमतिका कारण जग्गाको मुआब्जा वितरण हुन नसकेको आयोजनाले जनाएको छ ।

Next Post

कांग्रेसको महाधिबेशन अन्र्तरगत प्युठानको मतगणना स्थलमा झडप‚ दुई प्रहरीसहित सातजना घाइते

८ मंसिर २०७८, बुधबार ०६:५५
प्युठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा झडप भएको छ । मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा मतगणना अन्तिम हुन लागेको बेला विवाद हुँदा झडप भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार एक पक्षले हार्ने अवस्था भएपछि ढुंगामुडा तथा तोडफोड गर्न थालेपछि […]