– भिम उपाध्याय हिन्दू सनातन धर्म भनेको मूलत: आफूलाई यो जुनिमा आफैले सम्हालेर आनन्द लिने जिवन दर्शन हो। जिवन भौतिक र पराभौतिक (अभौतिक) हुन्छ।
पराभौतिक ज्ञान हासिल गर्न योग, ध्यान, एकान्तबास, सही आहार, विहार, निरन्तरको साधना, गुरूप्रतितको श्रद्धाभाव, मन्त्र पाठ, गुरूको सामिप्यता, गुरूको कृपा, धैर्यता, शान्त एवं स्थिर मन, कुनै बस्तु वा ब्यक्तिमा आधारित वा रिलेटेड परिचयबाट मुक्त अवस्था जरूरी हुन्छ। जिवन भनेको दिमागमा कोचिएको सूचना वा शरीरको मांसपेशीको रूपमा ठोसिएको भोजन हैन, उर्जा हो भन्ने बोध गराउछ। यो जगत र ब्राह्मण्डका सबै कुरा उर्जा हो। मानिस पनि त्यही एक उर्जा हो, तरंगमा अरू भन्दा केही फरक भएकोले फरक देखिएको मात्र हो।
आत्म ज्ञानलाई प्रमूखता दिइएकोले समातनी हिन्दूहरू सत्संग गर्छन् तर संगठन गर्दै हिड्दैनन् जबसम्म बाहिरबाट खतरा महसूस गर्दैनन्। अरूलाई आकर्षित गर्न परिवर्तन गराउन भन्दै प्रचार गर्दै हिड्दैनन् किनभने हिन्दू धर्म प्रणाली पराविद्या हो। पराविद्या भनेको आफूलाई आफै खोज्ने हो।
हिन्दूहरू प्रचार गर्दै हिड्दैनन्, ज्ञान बॉड्छन्। कसैमाथि आधिपत्य गर्न खोज्दैनन्, आत्मबोधमा जोड देउ सम्म भन्छन्। मुक्ति उसको जिवनको लक्ष भएकोले आत्मज्ञानलाई मात्र महत्व दिन्छन्। धन र विद्यालाई समाज शोषणको माध्यम बनाउदैनन्। शिक्षा र चिकित्साका लागि शुल्क लिनुहुदैन भन्ने मान्यताका कारण यसलाई धन कमाउने पेशा मान्दैनन्। यसै कारणले नि:शुल्क शिक्षा र चिकित्सा दिने हुनाले समाजले वैद्य तथा गुरूलाई भगवानभन्दा माथि मान्ने गरेका हुन्। विद्या दिने सेवासमूह वा वर्ग वा वर्णलाई ब्राह्मण भनेको हो जसले ब्रह्मज्ञानतर्फ समाजलाई डोर्याउछ। गुरूहरू घरघर जादैनन्, जसलाई ज्ञानको खॉचो छ उ आश्रममा धाउछ। पाहुना बनेर आउदा साक्षत भगवानले टेकेको ठानिन्छ। पाहुनालाई भगवान ठानिन्छ किनभने भेष बदलेर गुरू वा कुनै भगवान वा मानिस परीक्षण गर्न पाहुना बनेर आएको पनि हुन सक्छ भन्ने सोचिन्छ। अतिथि देव भव: भनिने गरेको यही हो।