सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभाको दशौं बैठकमा बजेट प्रस्तुत गरेका थिए । उनले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए । साथै प्रदेशको गरिबी निवारण न्यूनीकरणमा ध्यान दिइएको पनि उनले बताए ।