दैलेख । दैलेखमा व्यावसायिक कृषि गरिरहेका कृषकलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय दैलेखले जिल्लाका ११ स्थानीय तहमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने एक सय कृषकलाई पुरस्कृत गरेको हो ।
जिल्लाका बिभिन्न ठाउमा रहेर व्यावसायिक रूपमा तरकारी खेती गर्ने र समुदायमा उत्प्रेरणा जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने र कृषकहरूलाई प्रोत्साहन स्वरूप कृषकलाई १५ हजार रुपियाँ देखि ५० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र थापाले कृषि बिकास कार्यालयको वार्षिक कार्यक्रम अनुसार कृषकहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई अझै ब्यबसायिक तरकारी खेतीमा लाग्ने प्रेरणा जगाउने उद्देश्यले पुरस्कृत गरिएको बताउनुभयो । उहाँले कृषकहरूको वर्गीकरण गरेर उनीहरूलाई जनही १५ हजार देखी ५० हजार सम्म रकम दिएको बताउनुभयो ।
जिल्ला समन्वय समिति दैलेखका निवर्तमान प्रमुख प्रेम बहादुर थापाले पुरस्कृत कृषकलाई थप ऊर्जा प्रदान गर्ने र जिल्लामा व्यावसायिक तरिकाले कृषिमा लागेका किसानहरूलाई हौसला प्रदान गर्दै कृषकका समस्या पहिचान गरी समाधान गर्न स्थानीय सरकार लाग्नु पर्ने बताउनुभयो ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले उत्पादनशील जमिनमा सम्भावित खेती गर्न बाध्य गर्ने गरी नगरपालिकाले नीति ल्याउने र कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने खालका कार्यक्रम नगरपालिकाले ल्याउने बताउनुभयो । उहाँका अनुसार कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र कृषि क्षेत्रलाई प्रमुख पेसामा रूपमा बिस्तार गरिनेछ ।
नारायण नगरपालिका–२ का कृषक सर्बराज भण्डारीले तरकारी खेती बाट राम्रो उत्पादन गर्न सके जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले सामान्य रूपमा नभएर व्यावसायिक तरकारी खेती गरेको खण्डमा वार्षिक १० देखी १५ लाख सम्मको आम्दानी घरमै बसेर गर्न सकिने बताउनुभयो ।