बडा हुआ तो क्या हुआ पेड खजुर
पक्षी को छायाँ नहीं फल लगे अति दूर !’
सन्त कविरदासको यो दोहाले भन्छ- ‘खजुरको रूख जति नै बढे पनि के भयो र ? जब पक्षीको लागि त्यसले छायाँ दिन सक्दैन, फल लागेर पनि टिपी खान सकिंदैन ।’
हामीले जे-जति उपलब्धि हासिल गर्छौं, चराचर जगतका लागि त्यो के–कति उपयोगी थियो भन्ने कुरा महत्वपूर्ण छ । यो प्रसंगलाई खासगरी शैक्षिक उन्नयनमा जोड्न सकिन्छ । बालबालिका पढ्छन्, उत्तीर्ण हुन्छन्, शैक्षिक योग्यता हासिल गर्छन् । तर, के आर्जित ज्ञानले उसको जीवनलाई सहज र सरल बनायो ? परिवार, समाज र राज्यका लागि कुनै योगदान पुग्यो ? प्रकृति, पर्यावरण र पशु प्राणीका लागि हितकर रह्यो ?
यी प्रश्नहरूको फेरो त्यहीं जोडिन्छ, जहाँबाट उनीहरूको शैक्षिक पृष्ठभूमि बन्यो । अर्थात् कहाँ पढे, कसरी पढे, कस्तो पढे भन्ने कुरा यहाँ महत्वपूर्ण हुन्छ । कुरा पढाइको मात्र होइन, उनीहरूले हुर्कनका लागि कस्तो अनुकूलता पाए ? साथीसँगी कस्ता थिए ? खेल्ने ठाउँ र खेल्ने कुरा के–कति थिए ? यी सबै कुरा बालबालिकाको सर्वाङ्गीण विकासका लागि आधारशिला हुन् ।
जब बालबालिकाले सही धरातलमा टेक्न पाउँछन्, सही बाटो रोज्न र हिंड्न पाउँछन् तब उनीहरू सही गन्तव्यमा पुग्छन् । यो भनेको उनीहरूले पाउने शिक्षा–दीक्षा, वातावरण र मार्गदर्शन हो । यसका लागि अभिभावकले त्यही ठाउँमा बालबालिकालाई टेकाउनु जरूरी हुन्छ, जो उनीहरूका लागि उर्बर र उत्प्रेरक छन् । हामीले जुन बालबालिका हुर्काइरहेका छौं त्यो भोलिको युगको लागि हो । आर्टिफिसियल इन्टलिजेन्स (एआई)सँगै उच्चतम प्रविधिले छलाङ मारिरहेको त्यो युगमा उनीहरूले आफूलाई कति दर्बिलो गरी उभ्याउँछन् ? कति रचनात्मक जीवन बाँच्छन् ? कसरी दृढतापूर्वक प्रतिस्पर्धा गर्छन् ? यसमा आज विवेचना गरेर मात्र पुग्दैन उनीहरूका लागि सोही अनुरुपको आधार पनि निर्माण गरिदिनुपर्छ । यसका निम्ति शैक्षिक वातावरण, संगत र संस्कार एउटा बलियो जग हुनसक्छ ।
वर्तमान परिप्रेक्ष्यमा विद्यालयले बालबालिकाको सीप र ज्ञान विकासको लागि महत्वपूर्ण भूमिका खेल्छ । विद्यालयमा पढ्ने, अभ्यास गर्ने, लेख्ने, खेल्ने, संगत गर्ने र प्राप्त गर्ने विभिन्न किसिमका सिकाइ अनुभवहरूले उनीहरूको सुदूर भविष्यको बाटो तय गरिदिन्छ । तर कस्तो विद्यालय ? यो प्रश्नमा अभिभावकले मन्थन र चिन्तन गर्नु जरूरी हुन्छ । किनभने सबै विद्यालय एकनास हुँदैन । त्यसैले बालबालिकाका लागि उपयुक्त विद्यालय छनोट गर्नु अभिभावकको एक उत्कृष्ट कला हो ।
महान् चिन्तक चाणक्य भन्छन्- ‘कुनै पनि निर्णय लिनुअघि स्वयम्सँग तीन वटा प्रश्न गर्नुहोस् । म के गर्दैछु ? यसको नतिजा के हुनसक्छ ? यो कति सफल हुनसक्छ ?’ जब यी प्रश्नहरूको सन्तोषजनक उत्तर मिल्छ तब अगाडि बढ्न उनले सुझाएका छन् ।
हाम्रो आम कमजोरी के हुन्छ भने अरूको प्रभाव र दबाबमा निर्णय लिने । बालबालिकालाई शिक्षा–दीक्षा दिलाउने कुरामा भने यस्तो निर्णय आत्मघाती हुनसक्छ । यो वाक्य कठोर सुनिन्छ, तर सत्य यही हो ।
किनभने आज हामीले गर्ने सानो लापरबाहीले भोलि हाम्रा बालबालिका गलत दिशामा मोडिन सक्छन् । दोबाटोमा अलमलिन सक्छन् । सही गन्तव्य पहिल्याउन असमर्थ हुनसक्छन् । र, जीवनको सार्थकता गुमाउन सक्छन् ।
त्यसैले सचेत र जिम्मेवार अभिभावकको नाताले हामी विद्यालय छनोट गर्ने बेला संवेदनशील हुनु जरूरी छ । आज हामीले गर्ने उचित छनोटले भोलि हाम्रा बालबालिकालाई सही लक्ष्य पहिल्याउन सहज हुनेछ । उनीहरू पथभ्रष्ट हुने छैनन् । कुकर्म गर्ने छैनन् । बाँच्नका लागि असत्य, झुट र हिंसाको सहारा लिनुपर्ने छैन ।
विख्यात लेखक भिक्टर ह्युगोको भनाइ नै छ- ‘जसले विद्यालयको ढोका खोल्छ, उसले जेलको ढोका बन्द गर्छ ।’
सही विद्यालय छनोटको आधार
बालबालिकाका निम्ति कस्तो शैक्षिक धरातल उर्बर हुनसक्छ त ? यसका केही साझा आधार छन् । विद्यालय छनोट गर्नुअघि अभिभावकले त्यसको सिंहावलोकन गर्नु उचित हुन्छ । भनिन्छ, केही कदम हिंडिसकेपछि सिंह रोकिन्छ र पछाडि फर्केर हेर्छ । ‘मैले हिंडेको बाटो कस्तो थियो ? मेरो कदम सही ठाउँमा थियो ?’ समीक्षा गर्छ । तब मात्र उसले अगाडिको यात्रा तय गर्छ ।
विद्यालय छनोट गर्दा अभिभावकले विद्यालयको इतिहास एवं पृष्ठभूमिलाई जान्नुपर्छ । सो विद्यालयको विगत कस्तो थियो ? त्यसका व्यवस्थापकीय समूह र शैली कस्ता थिए ? त्यहाँ पढेका विद्यार्थी कस्ता भए ? यावत् कुरामा सिंहावलोकन गर्नुपर्छ ।
त्यससँगै विद्यालयको शिक्षण विधि, शैक्षिक स्रोत, भौतिक पूर्वाधार लगायत अतिरिक्त क्रियाकलाप र शैक्षणिक अनुभव आदिबारे जान्नुपर्छ ।
१. पाठ्यक्रम पढाइन्छ कि पाठ्यपुस्तक ?
विद्यालय छनोटको पहिलो कडी यही हुनसक्छ— तपाईंले रोज्नुभएको विद्यालयमा पाठ्यक्रम पढाइन्छ वा पाठ्यपुस्तक ? बालबालिकाको मनोविज्ञान, मस्तिष्कले ग्रहण गर्न सक्ने क्षमताका आधारमा पाठ्यक्रम विकास गरिएको हुन्छ । सोही आधारमा कसरी बालबालिकालाई कुनै पनि कुरा सिकाउने, बुझाउने र अभ्यास गराउने भन्ने तय हुन्छ ।
पाठ्यपुस्तक भनेको एउटा माध्यम मात्र हो, त्यो सम्पूर्णता होइन । पाठ्यक्रमका उद्देश्यहरू हासिल गर्न के कस्ता थप शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिन्छ त्यसले महत्वपूर्ण भूमिका खेल्छ । पाठ्यक्रमको सफल कार्यान्वयनले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बिन्दुमा पुग्छ । त्यसैले यस्तो विद्यालय छनोट गर्नु जरूरी हुन्छ जो पाठ्यपुस्तकमा मात्र भर पर्दैन । बरु त्यहाँ पाठ्यक्रम अनुसार बालबालिकाले बुझ्न सक्ने, सिक्न सक्ने शैलीमा पठनपाठन गराइन्छ ।
२. कति सुयोग्य शिक्षक ?
मानवविज्ञान ज्ञाता मार्गरेड मिड भन्छिन्, ‘के सोच्ने होइन । बरु कसरी सोच्ने भन्ने कुरा बालबालिकालाई सिकाउनु जरूरी छ ।’ खासमा यो कुरामा अहम् भूमिका शिक्षकको हुन्छ । शिक्षकले पढाउने, सिकाउने भन्दा पनि विद्यार्थीलाई सहजीकरण गरिदिने हो । कुनै पनि कुरालाई कसरी सोच्ने ? कसरी जान्ने ? कसरी थाहा पाउने ? यो कौशल शिक्षकले दिनसक्छ ।
किनभने अहिले विद्यार्थीमा जानकारीको कमि छैन । उनीहरूले विभिन्न माध्यमबाट धेरै कुरा थाहा पाएका छन् । सिक्ने स्रोत अनेक छन् । यस्तो स्थितिमा शिक्षकले विद्यार्थीलाई कुनै पनि कुराको जानकारी दिलाउने होइन । बरु कुन माध्यमबाट कसरी सही जानकारी लिने ? त्यो जीवनका लागि कति उपयोगी हुनसक्छ ? त्यसलाई व्यावहारिक जीवनमा कसरी प्रयोगमा ल्याउने ? यी कुरामा सहजीकरण गरिदिनुपर्छ ।
यस्तो सुयोग्य शिक्षक तयार गर्नमा विद्यालय व्यवस्थापनको खास दायित्व रहन्छ । शिक्षकलाई समयानुकूल प्रशिक्षित बनाउँदै लैजाने, शिक्षणका नयाँ र वैज्ञानिक विधिमा अभ्यस्त बनाउने काम विद्यालयको हो । यसरी विद्यालयले शिक्षकको क्षमता विकासमा के कस्तो कार्यक्रम तय गरेको छ ? अभिभावकले सोध्नु वा बुझ्नु जरूरी छ ।
३. सिकाइ विधि कस्तो छ ?
एपिजे अब्दुल कलाम भन्छन्— ‘एक विद्यार्थीको महत्वपूर्ण गुण यो हो कि उसले शिक्षकसँग प्रश्नहरू गरिरहोस् ।’
विद्यार्थीलाई पढाउनुको अर्थ यो होइन कि उनीहरूसँग हरेक कुराको जवाफ होस् । बरु, उनीहरूमा अनगिन्ती प्रश्न एवं उत्सुकता होस् । यस्तो प्रश्नले उनीहरूलाई नयाँ कुरा सिक्न, जान्न, बुझ्न प्रेरित गरिरहन्छ । विद्यार्थीमा यस किसिमको गुण विकास गर्न शिक्षण विधि जिम्मेवार हुन्छ ।
सिकाउनुको अर्थ जान्ने बनाउनु भन्दा बढी उत्सुक बनाउनु हो । किनभने हामीले आजका बालबालिकालाई सम्पूर्ण कुरा सिकाउन सम्भव हुँदैन । आज हामीसँग भएको स्रोत, साधन र जानकारी उनीहरूका लागि पर्याप्त हुँदैन । त्यसैले उनीहरूलाई हामीले जति कुरा सिकाए पनि त्यो सीमित हुनपुग्छ । बरु यसको साटो उनीहरूलाई जिज्ञासु बनाइराख्ने हो । हाम्रो सिकाइ विधि यही हुनुपर्छ कि, जसले विद्यार्थीमा प्रश्नहरू जगाइदियोस् । यस किसिमको पठन विधि भएको विद्यालय उपयुक्त हुनसक्छ ।
विद्यार्थीलाई सहभागितामा आधारित रहेर कुनै पनि कुरा सिकाउने, अन्तरक्रिया गराउने, प्रयोगात्मक अभ्यास गराउने खालको पठन विधि हुनुपर्छ । विद्यार्थीहरूले पनि आपसमा छलफल, सहकार्य गरेर सिक्ने खालको वातावरण बनाइएको हुनुपर्छ । यस्तो विद्यालयमा विद्यार्थीको बौद्धिक र व्यावहारिक क्षमता विकास राम्ररी हुन्छ ।
४. शैक्षणिक स्रोत र पूर्वाधार कति पुग्दो छ ?
नयाँ जानकारी, ज्ञान लिनका लागि पर्याप्त शैक्षणिक स्रोतको आवश्यकता हुन्छ । पुस्तकालय, विज्ञान प्रयोगशाला, खेल सामग्री आदि छ वा छैन ? अभिभावकले हेर्नुपर्छ । बालबालिकाले विद्यालयमा पुगेपछि किताब र कापीमा मात्र सीमित हुनुहुँदैन । उनीहरूले सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञानका लागि अरू थुप्र्रै स्रोत उपयोग गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा विद्यालयले के कस्ता शैक्षिक स्रोत उपलब्ध गराएको छ ? हेर्नुपर्छ ।
५. भौतिक पूर्वाधार विद्यार्थीमैत्री छ ?
विद्यालयको भवन कस्ता छन् ? कक्षाकोठाहरू कस्ता छन् ? खेलमैदान कस्ता छन् ? शौचालय कस्ता छन् ? यावत् कुराको अवलोकन गर्नुपर्ने हुन्छ ।
कक्षाकोठा फराकिलो र पठनमैत्री हुनुपर्छ । त्यस्तो कक्षाकोठामा पर्याप्त हावा आउजाउ गर्ने हुनुपर्छ । यस्तो कक्षाकोठा, जहाँ विद्यार्थीलाई सहज लाग्नुपर्छ । साथसाथै उनीहरूले त्यहाँ आउजाउ गर्न, अभ्यास गर्न पनि अनुकूल हुनुपर्छ ।
विद्यालयका अन्य भौतिक संरचना पनि विद्यार्थीमैत्री हुनुपर्छ । जस्तो भ¥याङ, बाटो, खेल मैदान, बगैंचा, शौचालय आदि कस्तो छ ? विद्यालयमा बालबालिकाले माटो स्पर्श गर्न पाउँछन् ? हरिया झारपातमा टेक्न पाउँछन् ? बोटबिरुवा एवं प्रकृतिको नजिक भएको महसुस गर्न पाउँछन् ? अभिभावकले हेर्नुपर्छ ।
६. अतिरिक्त गतिविधिलाई कति प्राथमिकता दिएका छन् ?
बालबालिकाको क्षमता एकनास हुँदैन । उनीहरूको सिक्ने, जान्ने क्षमता जसरी फरक हुन्छ उसैगरी उनीहरूको रुचि पनि फरक हुन्छ । हामीले बालबालिकालाई उनीहरूको रुचि पहिल्याउनुपर्छ । सो रुचिलाई उसको व्यावहारिक जीवनसँग जोडिदिनुपर्छ । ताकि, बालबालिकाले आफ्नो रुचि अनुरूपको क्षमता विकास गर्न सकोस् । जस्तो; उनीहरू नाच्न, गाउन, खेल्न, लेख्न, चित्र बनाउन रुचि राख्छन् भने त्यसमा हतोत्साही गर्ने होइन बरु सही मार्गदर्शन दिने हो ।, यसका लागि बालबालिकालाई यी सम्पूर्ण कुरामा अभ्यस्त गराउने सुविधा विद्यालयमा हुनुपर्छ । खेलकुद, नाचगान, वक्तृत्वकला आदि गतिविधिलाई विद्यालयले प्राथमिकतासाथ सञ्चालन गरेको हुनुपर्छ ।
७. विद्यालयको विगत कस्तो थियो ?
विद्यालयको इतिहास एवं विगत कस्तो थियो ? थाहा पाउनुपर्छ । त्यहाँ पढेर गएका विद्यार्थी अहिले कहाँ के गर्दैछन् ? उनीहरू कति सक्षम भए ? यसको मूल्यांकन गर्नुपर्छ । यावत् कुरा अभिभावकले पुराना विद्यार्थी, अभिभावकसँग सोधपुछ गरेर जानकारी लिन सक्छन् ।
त्यसो त विद्यालयले पनि आफ्ना विद्यार्थीको अवस्थाबारे अपडेट राख्नुपर्छ । आफूले पढाएका विद्यार्थी कहाँ छन्, के गर्दैछन् ? भन्ने कुराको विवरण राख्नुपर्छ । यसले उनीहरूलाई आफ्नो पठनशैली कति सफल थियो भनी स्वमूल्यांकन गर्न पनि सघाउँछ । विद्यालय आफ्नो विद्यार्थीको भविष्यप्रति कति सचेत र उत्तरदायी छ भनी थाहा हुन्छ ।
८. विद्यालयको नेतृत्व कस्तो छ ?
पठन विधि कस्तो हुने ? शैक्षिक पूर्वाधार कस्तो हुने ? शिक्षकहरू कस्ता हुने ? यावत् कुराको निर्धारण त्यसको नेतृत्वले गर्ने हो । त्यसर्थ कुनै पनि विद्यालय कस्तो छ भनी जान्नका लागि त्यहाँको नेतृत्व कसले हाँकिरहेको छ भनेर बुझ्नुपर्ने हुन्छ ।
विद्यालयको नेतृत्व गर्ने व्यक्ति वास्तवमै शिक्षाप्रति झुकाव राख्छन् ? उनले सामाजिक उत्तरदायित्वको क्षेत्रमा के कस्ता काम गरेका छन् ? जानकारी लिनुपर्छ । शिक्षण क्षेत्रमा उनको अनुभव र झुकाव कस्तो छ भनी बुझ्नुपर्छ ।
९. विद्यालयको पृथक् चिनारी के हो ?
यो एउटा महत्वपूर्ण शर्त हो, सही विद्यालय छनोटका लागि । जस्तो हामीले अक्षरा स्कुललाई ‘संस्कारयुक्त शिक्षा’ भनी पृथक् पहिचान दिलाएका छौं । हाम्रो ध्येय विद्यार्थीलाई केवल पढाउनु मात्र होइन, बरु सुशिक्षित र सुसंस्कृत बनाउनु हो । किनभने संस्कारले मान्छेलाई सही जीवन बाँच्ने दृष्टिकोण र मार्गदर्शन दिन्छ । त्यही कारण हामीले पढाइलाई जत्तिकै महत्व संस्कारलाई दिएका छौं ।
यहाँ बालबालिकाले आफ्नो संस्कारलाई कसरी सम्मान गर्ने, कसरी पालना गर्ने, कसरी जीवन र जगतसँग जोड्ने भन्ने सिक्छन् । यसरी हरेक विद्यालयको आफ्नो पृथक् अभ्यास र चिनारी हुन जरूरी छ ।
विद्यालय आफैंमा एउटा समाज हो
विद्यालय आफैंमा एउटा परिवार र समाज हो । त्यहाँ विद्यार्थीले लामो समयसम्म बिताएका हुन्छन् । जहाँ बालबालिका पढ्छन्, खेल्छन्, रमाउँछन्, सिक्छन्, साथीसंगी बनाउँछन् भने त्यो उनीहरूको एउटा समाज पनि हो ।
विद्यालयको वातावरणबाट विद्यार्थीले धेरै कुरा सिकिरहेका हुन्छन् । साथीसंगी, शिक्षकबाट सिकिरहेका हुन्छन् । त्यसैले विद्यालयको माहोल प्रेरणादायी र सकारात्मक हुन जरूरी छ । शिक्षक र विद्यार्थीबीच मित्रवत् सम्बन्ध हुनुपर्छ । शिक्षकलाई देख्नासाथ विद्यार्थी डराउने, आत्तिने स्थिति आउनुहुन्न । एकआपसमा प्रेममय र सम्मानजनक सम्बन्ध कायम रहेको हुनुपर्छ ।
विद्यार्थीहरू कति सक्षम छन् ?
विद्यार्थीको लेखाजोखा उनीहरूले प्राप्त गर्ने परीक्षाको नतिजाबाट मात्र हुँदैन । बरु उनीहरू कति संस्कारयुक्त छन्, कति सक्षम छन्, कति सिपालु छन्, कति रचनात्मक छन्, कति विनयी छन् भन्ने कुराले उनीहरूको समग्र जीवनको मापन गर्छ । अर्थात् विद्यालयमा उनीहरूले आफ्नो कुनै विशिष्ट क्षमता विकास गरेको हुनुपर्छ ।
यसका लागि विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा के कस्तो योगदान दिएको छ ? खेल, कला, साहित्य, विज्ञान जस्ता अनेक विधामा उनीहरूलाई कसरी प्रेरित गरेको छ भनेर जान्नुपर्छ । कुनै पनि विद्यालयले विभिन्न माध्यमबाट विद्यार्थीको क्षमता, व्यक्तित्व, सीप विकासमा कति अनुकूलता दिएइको भनेर बुझ्नुपर्छ । यसरी विद्यार्थीको सर्वाङ्गीण विकासमा ठोस सहयोग गर्ने विद्यालय नै सही हुनसक्छ ।