सुर्खेत । गत भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीबाट जलेर नष्ट भएको नापी कार्यालय सुर्खेतले एक महिनाभन्दा बढी समय बितिसक्दा पनि सेवा पुनः सञ्चालन गर्न सकेको छैन । आगजनीपछि कार्यालयका कर्मचारी अहिले जग्गाको प्लट रजिस्टरहरू हातैले लेखेर पुनःस्थापनाको काममा व्यस्त छन् ।
नापी कार्यालय सुर्खेतका प्रमुख दिनेश भण्डारीका अनुसार पछिल्लो एक महिनामा कार्यालयको सफाइ, प्राविधिक फाँट मर्मत तथा पुनर्निर्माणका काम सम्पन्न गरिएका छन्, तर सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिन सकिएको छैन। हाल कार्यालयमा २५ जना कर्मचारी कार्यरत छन् ।
भण्डारीका अनुसार सुरुवातमा नक्सा वितरण सेवा पुनः सुरु गर्ने तयारी भइरहेको छ। त्यसका लागि सबै कर्मचारीलाई प्लट रजिस्टर पुनःस्थापनाको काममा परिचालन गरिएको छ। आगजनीबाट करिब ४ सय प्लट रजिस्टर जलेर नष्ट भएका थिए। विभागबाट नयाँ रजिस्टर मगाई हातैले पुनःलेख्ने काम तीव्र रूपमा भइरहेको उनले बताए ।
उनका अनुसार आगजनीपछि कार्यालय पूर्ण रूपमा ध्वस्त बनेको छ, कागजात र सर्भर दुवै जलेर नष्ट भएका छन् । जलेका कागजातमध्ये पाँच प्रतिशत मात्र उपयोग गर्न सकिने अवस्थामा छन्, बाँकी सबै खरानी भएका छन्, उनले बताए ।
हालसम्म कार्यालयमा मर्मत, रङरोगन र प्राविधिक फाँट पुनःसंरचनाको काम भइरहेको छ । अन्य जिल्लाका नापी कार्यालयहरूबाट कम्प्युटर, स्क्यानर र प्रिन्टर माग गरिएको छ। यद्यपि हार्ड डिस्क रिकभर गर्ने प्रयास असफल भएको कार्यालयले जनाएको छ ।
मर्मत र उपकरण खरिदका लागि छुट्टै बजेट नभएकाले स्थानीय तह र अन्य कार्यालयसँग सहकार्य गरी सहयोग मागिएको छ। प्रमुख भण्डारीका अनुसार, “हाल काम थाल्न कम्तीमा १५ वटा कम्प्युटर, स्क्यानर र प्रिन्टर आवश्यक छन्, जुन अहिलेसम्म उपलब्ध छैनन् ।
उनले तिहारपछि नक्सा वितरण सेवा आंशिक रूपमा सुरु गर्ने लक्ष्य लिइएको बताए। विभागबाट हार्ड डिस्क रिकभर गर्न सकिएमा सेवा सुचारु गर्न सजिलो हुने उनको भनाइ छ । आगजनीबाट कार्यालयलाई करिब तीन करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।
हाल कार्यालयले क्षतिग्रस्त सामग्रीहरूको लगत लिई मिनाहा वा लिलामी प्रक्रिया अघि बढाएको जनाएको छ। प्रमुख भण्डारीका अनुसार, “कार्यालयको न्यूनतम सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा छ ।


