सुर्खेतमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर, २५५ महिलाले सेवा पाए

कर्णालीदृष्टि संवाददाता १९ भाद्र २०८२, बिहीबार ०८:५२

सुर्खेत सुन्दर कर्णाली संस्थाको आयोजनामा तथा वुमन फोरम निकुञ्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा गुर्भाकोट नगरपालिका–११, मेहेलकुना अस्पतालमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न।

उक्त आयोजना शिविरमा ३० वर्षमाथिका महिलाको पाठेघर मुखको क्यान्सर, अङ्ग खस्ने समस्या लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । कुल २५५ महिलाले सेवा लिएका मध्ये २० जनामा समस्या देखिएको र जटिल अवस्थामा रहेका केहीलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको सुन्दर कर्णाली संस्थाकी अध्यक्ष निर्मला अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जना महिलामा रिङ पेसरी राखिएको, अन्यलाई निःशुल्क औषधि वितरण र चिकित्सक परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरको उद्घाटन गुर्भाकोट नगरप्रमुख हस्त पुनले गर्नुभयो । कार्यक्रममा प्रदेश अस्पतालका पूर्व मेसु प्रा। डा। डम्बर खड्का, उपप्रमुख, मेहेलकुना अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख पुनले यस्ता स्वास्थ्य कार्यक्रम गाउँघरमै आइपुग्नु उत्साहजनक भएको बताउँदै महिलामाझ स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, डा। खड्काले महिलामाझ पाठेघरसम्बन्धी समस्या सामान्य भए पनि लाज, डर र सामाजिक कारणले नियमित परीक्षण नगर्दा जटिल बन्ने भएकाले यस्ता शिविर आवश्यक रहेको धारणा राख्नुभयो ।

अध्यक्ष अधिकारीले एकदिने शिविरमा २ सयभन्दा बढी महिलाको सहभागिता सकारात्मक रहेको बताउँदै आगामी दिनमा अझै व्यापक रुपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको नारी निकुञ्ज अष्ट्रेलियाले विगतदेखि नै नेपालका दुर्गम भेगमा महिलामुखी स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ । शनिबार सम्पन्न शिविर पनि सोही निकुञ्जसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

Next Post

अविरल वर्षाका कारण कर्णाली राजमार्गका पुनः अवरुद्ध

१९ भाद्र २०८२, बिहीबार ०८:५२
जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न खण्डमा सडक भासिनु र पहिरो खस्नुले यातायात पुनः अवरुद्ध भएको छ विशेषगरी सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित कालेखोला, एसमोड र गगने खोलामा सडक भत्किँदा तथा पहिरो खस्दा सवारी–सञ्चार ठप्प भएको हो। कालेखोलामा सडक भासिएको छ भने गगने खोला र एसमोड क्षेत्रमा ठूलो […]