काठमाडौं :नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशका सबै वडाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ७५३ वटै स्थानिय तहका ६ हजार ७४३ वटा वडाहरुमा एकैसाथ विरोध गर्ने भएको हो ।यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ । यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाले आज हुने विरोध सभामा सहभागी हुन सबै नेता कार्यकर्तालाई बुधबार नै अपिल गरेका छन् । ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु’ देउवाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएपछि कांग्रेसले यस विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । यसका विरुद्धमा नेकपाको ओली समूहबाहेक अन्य साना ठूला सबै दलहरु सडक संघर्षमा छन् । यद्यपी प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई भने सर्वोच्चमा अझै पनि विचाराधिन अवस्थामै छ ।