दाङ । दाङमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच तहसिल नानपाराका २८ वर्षीय नाइम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोमबार बेलुका ५ बजेतिर भारतीय नागरिक जस्ता देखिने व्यक्तिले लमही–९ अमिलियामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले चेकजाँच गर्दा नाइम पक्राउ परेका थिए ।
नाइमको साथबाट ४५ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
नाइममाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्थाबमोजिम २५ ग्राम देखि १०० ग्रामसम्मको परिमाण भएमा १० वर्ष कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुने प्रावधान छ ।