सल्यान । सरकारले चालु आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकको तलब ६ हजारबाट बढाएर १५ हजार रुपैयाँ पु¥यायो ।
तर ती शिक्षकहरूले बढेको तलब पाउन सकेका छैनन । बजेटको अभाव देखाउँदै स्थानीय तहले बढेको तलब नदिएपछि उनीहरू मासिक ६ हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएका हुन ।
सरकारले अहिले उनीहरूले पाउँदै आएको ६ हजार रुपैयाँमा संघीय सरकारले २ हजार थप गर्ने र स्थानीय तहले ७ हजार रुपैयाँ थप गर्नुपर्ने व्यवस्थासहित बजेट ल्याएको थियो ।
सल्यानका १० स्थानीय तहमध्ये कपुरकोट, कालीमाटी र सिद्धकुमाख गाउँपालिकाले मात्र उक्त निर्णय कार्यान्वयन गरेका छन । जिल्लामा करिब ३ सय बालविकास शिक्षक कार्यरत रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
त्यसमध्ये शारदाका ६२, बन्गाडकुपिण्डेका ४५, बाग्चौरका ६४, छत्रेश्वरीका ४०, त्रिवेणीका ३३, दार्माका ३७ र कुमाख गाउँपालिकाका ३० शिक्षकले बढेको तलब अझै पाएका छैनन ।
बालविकास शिक्षक संघर्ष समितिकी अध्यक्ष शान्तिप्रभा पुरीले तलब नबढ्दा जीविकोपार्जनमा समस्या भएको बताउनुभयो ।