आज क्रिसमस: प्रेम, शान्ति र मुक्ति दिवसका रुपमा मनाइँदै

कर्णालीदृष्टी संवाददाता १० पुष २०७८, शनिबार ०७:०७

काठमाण्डौ – आज क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । आजको दिनलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गरिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजले जानकारी दिनुभयो ।

क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

नेपालमा २०६३ सालपछि महोत्सवको रुपमा दिवस मनाउन थालिएको हो । काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्पूर्ण इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना गर्नुभएको छ ।

Next Post

जुम्लामा राहत लिएर ओडारमै पुग्यो प्रशासन

१० पुष २०७८, शनिबार ०७:०७
जुम्ला । जुम्लामा चिसोको समयमा पनि ओडारमै बस्दै आउनुभएका चेते कुलाललाई राहत दिइएको छ । १५ वर्षदेखि ओडारमै बस्दै आउनुभएका कुलाललाई न्यानो कपडा र आवश्यक खाद्यान्न दिइएको हो । जिल्ला प्रशासन, पालिका सरकारसहित सरोकारवाला निकाय ओडारमै पुगेर उनलाई राहत प्रदान गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं, सशस्त्र […]