किन घट्यो मोबाइल सेवा प्रदायकको आम्दानी र नाफा ?

खबरदृष्टि ३० भाद्र २०७७, मंगलवार १६:००

काठमाडौं । कोभिड-१९को महामारीका कारण अर्थतन्त्रमा आएको मन्दीसँगै त्यसको असर मोबाइल सेवा प्रदायक कम्पनीको वासलातमा पनि देखिन थालेको छ । चैत ११पछि गरिएको लकडाउनसँगै यो क्षेत्रमा ठूलो असर देखापरेको छ ।

बितेको आर्थिक वर्ष २०७६/७७मा मोबइल सेवा प्रदायक कम्पनीका आम्दनी र नाफा दुबैमा नकारात्मक प्रभाव प्रभाव परेको तथ्यांकहरुले देखाउँछन् ।

यो अवधिमा मोबाइल सेवा प्रदायको डाटाबाट हुने आम्दानीमा सुधार भएपनि विभिन्न कारणले भ्वाइस सेवाबाट आम्दानी गुमाउन पर्दा टेलिकम कम्पनीको नाफा पनि भारी मात्रामा गिर्‍यो ।

यसले गर्दा नेपाल टेलिकमले गत आर्थिक वर्षभरिमा अघिल्लो आर्थिक वर्ष २०७५/७६वर्षभन्दा २ अर्ब कम आम्दानी गर्‍यो ।

गत आवमा कम्पनीले ४१ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गर्‍यो । ग्राहकबाट भएको आय ३६ अर्ब थियो । बाँकी अन्य ट्रेडिङबाट भएको आय हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६मा टेलिकमको आम्दानी ४३ अर्ब ८३ करोड थियो ।

गत वर्ष टेलिकमले ८ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमायो । अघिल्लो वर्षको तुलनामा यो नाफा १ अर्ब २० करोडले कम हो ।

यसरी नाफा घट्नुमा अन्तिम त्रैमासमा भएको लकडाउन मुख्य कारण बन्यो । गत वर्षको अन्तिम त्रैमासमा टेलिकमको खुद नाफा ९९ करोड ४० लाखमा खुम्चियो । यो नाफा अघिल्लो आर्थिक वर्षको यस्तै अवधिको भन्दा दुबई तिहाई कम थियो ।

यो अवधिमा टेलिकमले २ अर्ब ५५ करोड नाफा कमाएपनि यो अघिल्लो वर्षको यस्तै अवधिको तुलनामा करिब ३९ प्रतिशत मात्रै हो ।

लकडाउन भएको यो समयावधिमा टेलिकमले ९ अर्ब २२ करोड रुपैयाँ आय गर्‍यो । जबकी त्यसमभन्दा अघिल्लो वर्ष टेलिकमले यस्तो त्रैमासमा ११ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

एनसेलको पनि उही कथा

लकडाउनपछि एनसेलले पनि नाफामा भारी गिरावट आएको छ ।

आजियटाको विवरण अनुसार सन् २०२० को पहिलो ६ महिनामा एनसेलको नाफा अघिल्लो वर्षको यस्तै अविधिको तुलनामा करिब ७५ प्रतिशत खुम्चिएको छ । यो ६ महिनामा एनसेलले २ अर्ब ३७ करोड मात्रै नाफा गरेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा एनसेलले ९ अर्ब ३६ करोड नाफा कमाएको थियो ।

सन् २०२० को दोस्रो त्रैमासमा एनसेलले ९ अर्ब ५४ करोड आम्दानी गर्‍यो । जुन अघिल्लो वर्षको यस्तै अवधिको भन्दा ४ अर्ब ७८ले कम हो । अघिल्लो वर्षको दोस्रो त्रैमासमा एनसेलले १४ अर्ब ३२ करोड आय गरेको थियो ।

एनसेलले यो अवधिमा भ्वाइस सेवाबाट २४ प्रतिशत र अन्तर्राष्ट्रिय कलबाट १७.५ प्रतिशतले आम्दानी गुमाएको छ । एनसेलको यो अवधिमा २२ प्रतिशत आम्दानी घट्दा करिब ७५ प्रतिशत नाफा पनि घट्न पुग्यो ।

टेलिकमको जस्तै एनसेलको पनि डाटामा आम्दानी बढ्यो । एनसेलको डाटाबाट हुने सन् २०२०को आय दोस्रो त्रैमासमा २८ प्रतिशत पुग्यो । गत वर्ष यस्तै अवधिमा यस्तो आय २२ प्रतिशत थियो ।

टेलिकमको स्पष्टीकरण

लिजलाइन, एफटीटीएच र जीएसएम डाटा बाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजस्वमा कमी आएको नेपाल टेलिकमले जनाएको छ ।

तुलनात्मक रुपमा लिजलाइन, एफटीटीएच सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजस्वले अन्य सेवाबाट हुने राजस्वको कमीलाई परिपूर्ति गर्न नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

‘कोभिड-१९को महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा अघिल्लो वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा चालु आवको सोही त्रैमाससम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजस्व दुई अर्व २९ करोड २८ लाखले कम भयो,’ उनी भन्छन् ।

कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा छुट गणना गर्न सुरु गरेको छ ।  कूल बिक्रीलाई हिसाब गरिसकेपछि कमिसन प्रदान गरिन्छ । तर, रिचार्ज कार्ड बिक्री अघि छुट प्रदान गरिने हुँदा छुटको कारणले सेवा वापतको आय घटेको पनि टेलिकमे स्पष्टोक्ति छ ।

गत आवको तुलनामा चालु आवमा यस्तो छुट रकम रु. ७९ करोड ३१ लाख ९१ हजार बढेको टेलिकमले जनाएको छ । चौथो त्रैमासिकसम्मको तुलना गर्दा छुट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजस्वमा ३.९ प्रतिशतले कमी आएको टेलिकमको भनाइ छ ।

फोरजी सेवाको विस्तारको कारणले आ.व. २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येवाट राजस्व वृद्धि उन्मुख रहेपनि कोभिड-१९को महामारीपछि अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट आएको छ ।

अहिले ओभरि दि टप (ओटीटी)को बवढ्दो प्रयोग जस्तालगायतका कारणहरुले गर्दा जीएसएम  तथा पीएटीएन सेवामा करिव  २ अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिव  ५४ करोडको कमी भएका टेलिकमले बताएको छ । यो अवधिमा डाटासेवातर्फ करिव ७५ करोड आम्दानी बढेपनि घाटाको पूर्ति भने हुन सकेन  ।

महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनपछि व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको छ । सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असर परेको प्रवक्ता जोशीले बताए ।

महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकवर्गलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले टप अपमा शतप्रतिशत बोनस वापत रु. ५३ करोड ४० लाखभन्दा बढी छुट दिइएको टेलिकमको दावी छ । यस्तै मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिँदा २२ करोड ८३ लाखभन्दा बढी आम्दानी गुमेको टेलिकमको भनाइ छ । जेरो भ्यालु कलवापत पनि ५  करोड ३० लाख भन्दा बढिको निःशुल्क सेवा दिएको टेलिकमले जनाएको छ ।

महामारीसँग सम्बन्धित रहेर नेपाल सरकारका निकायहरुको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवा सुविधाहरु उपलव्ध गराएको टेमिकले बताएको छ । सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले आˆनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १० करोड योगदान पनि गरेको  छ ।

उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा बाहृय श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, विजुली लगायतको खर्चमा वृद्धि भएको, कर्मचारीको तलव बढेको, कर्मचारीलाई उपलव्ध गराइएको ऋण लगायतको कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको  टेमिकले बताएको छ ।

Next Post

भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

३० भाद्र २०७७, मंगलवार १६:००
काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी […]