दैलेख । दैलेखमा खोलामा करेन्ट लगाएर माछा मार्ने ४ जनालाई पक्राउ गरी जनही २ हजार रुपैया जरीवाना गरिएको छ ।
नौमूले गाउँपालिका १ र ६ मा पर्ने लोहोरे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा पक्राउ परेका ४ जनालाई स्थानीय प्रशासनले जनही २ हजार जरिवाना गरेर छाडीएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
शुक्रवार लोहोरे खोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा प्रहरीले नौमुले गाउँपालिका–६ बस्ने १८ बर्षीय सुजन थापा, प्रदिप थापा मगर, टेक बहादुर गुरुङ्ग र नौमुले गाउँपालिका–५ बस्ने १८ बर्षीय अमित राम्जाली मगरलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग गरिएका सामानहरु एक थान १२ भोल्टको ब्याट्री, दुई थान कुरेला, दुई थान तार जोडेको लाठ्ठी, पेरोङ्गो, ईन्भटर र एक सय ग्राम माछा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले जानकारी दिनुभयो ।
उनीहरुलाई आइतवार जलचर संरक्षण ऐन २०१७ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा पेस गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उनीहरुलाई जनही दुई हजार जरिवाना गर्ने निर्णय सुनाउनुभएको थियो । उनीहरु सबैले जनही २ हजार जरिवाना तिरेर छुटेका छन् ।