काठमाण्डौ – निर्वाचन आयोगले स्थानीय तहको चुनाव गर्नका लागि तयार रहेको बताएको छ । मङ्गलवार प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते स्थानीय तहको चुनाव गर्नका लागि मिति प्रस्ताव गरेको आयोगले विज्ञप्ति निकालेर चुनाव गर्न तयार रहेको बताएको हो ।
सामान्यतयाः चुनाव गर्न एक सय २० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायतका काम निरन्तर भइरहेकाले आयोगले स्थानीय तहको चुनाव गर्न तयार रहेको विज्ञप्तिमा जनाएको छ । आयोगले स्थानीय तहको चुनाव एकै चरणमा गर्नु सकारात्मक रहेको पनि बताएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । सात सय ५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्दा झन्डै १२ अर्ब रुपैयाँ खर्च हुने आयोगका पदाधिकारीले बताएका छन् । चुनावमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ ।
२०७४ सालमा तीन चरणमा चुनाव गर्दा आठ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ । यसपालि कोरोना भाइरसको जोखिम भएकाले पनि यसअघिको भन्दा खर्च बढ्ने आयोगको अनुमान छ ।