सल्यान । सल्यानमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले बुधबार गरेको छड्के निरीक्षणमा सल्यान सदरमुकाममा रहेका १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा धेरै कर्मचारी अनुपस्थित भएको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, कृषि विकास कार्यालयमा १३, प्रदेश लेखा एकाइमा २ कर्मचारी अनुपस्थित रहेका छन ।
यस्तै जिल्ला आयुर्वेद कार्यालयमा ९, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमा १२, जिल्ला हुलाक कार्यालयमा ३, कारागारमा २, मालपोत कार्यालयमा २, शिक्षा विकास तथा समन्वय एकाइमा २ र नापी कार्यालयमा ३ जना गरी एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी थमन खड्काले जानकारी दिनुभयो ।
बिदा वा काज स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई अनुपस्थित रहनुको कारण खुलाई एक साताभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको उहाको भनाइ छ । सरकारी कार्यालयको सेवा चुस्त नभएको गुनासो आउन थालेपछि छड्के निरीक्षण गरिएको कार्यालयले जनाएको छ ।