सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुने

कर्णालीदृष्टी संवाददाता ६ बैशाख २०७९, मंगलवार ०७:५४

सुर्खेत । सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुने भएको छ । जिल्लाको बराहताल गाउँपालिका–७ मा सूर्यतारा सिमेन्ट उद्योगको स्थापना गरिने भएको हो ।

सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेना लगायतको समूहले सोमबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भेटघाट समेत गरेको छ । सिमेन्ट उद्योग स्थापनाका लागि उद्योगले चौकुन गाउँपालिकामा ४२ विघा जमिन खरिदसमेत गरिसकेको छ ।

बराहताल गाउँपालिका–७ स्थित लखरपाटा क्षेत्रको ९५ हजार हेक्टर जमिनबाट उद्योगका लागि चुनढुंगा उत्खनन् गर्ने योजना छ । उद्योग स्थापनाका लागि हाल भइरहेका क्रियाकलाप तथा भावी योजनाबारे सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष तिमिल्सेनाले मुख्यमन्त्री शाहीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सेनाले दिएको जानकारीअनुसार उद्योग स्थापनाका लागि जग्गा प्राप्ति भइसकेको र हाल पहुँचमार्ग निर्माण र संरचना निर्माणको कामको प्रक्रियामा रहेको छ ।

लगानी बोर्डले उद्योग सञ्चालनार्थ १४ अर्ब, २७ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृतसमेत गरिसकेको छ । उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ । दुई वर्षभित्र उद्योग सञ्चालन गरी उत्पादन थालिने अध्यक्ष तिमिल्सेनाले बताउनुभयो ।

सूर्यतारा सिमेन्ट उद्योगका पदाधिकारी तथा मुख्यमन्त्री शाहीका बीच भएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो ।

कच्चा पदार्थको खानी तथा उद्योगसम्म सडकका साथै पानी पु¥याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने मुख्यमन्त्री शाहीको भनाई थियो ।

यसका साथै उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा सिमेन्ट उद्योगलाई करलगायतका क्षेत्रमा छुटको समेत व्यवस्था गरिने मुख्यमन्त्री शाहीको भनाइ छ ।

Next Post

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल विजयी

६ बैशाख २०७९, मंगलवार ०७:५४
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव लक्ष्मण कँडेल अध्यक्षमा विजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा कँडेलले ४८ मत अन्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गर्नुभएको हो । कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले ८६३ मत प्राप्त गर्नुभयो । यस्तै, […]