काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ । संविधानमा पहिलेका गाउँ विकास समिति र जिल्ला विकास समितिभन्दा पनि अधिकारसम्पन्न भएका स्थानीय तहको गठन भएपछि २०७४ मा पहिलोपटक निर्वाचन भएको थियो ।
स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पनि अनौपचारिक रूपमा आइतबार सकिएको छ । नयाँ जनप्रतिनिधि निर्वाचनको प्रक्रिया सुरु भएसँगै पुरानाको कार्यकाल अनौपचारिक रूपमा सकिएको छ ।
कतिपय प्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिइसकेका छन् । यसरी मनोनयन दर्ता सुरु भएसँगै चुनावको माहोल गाउँसम्म पुगेको छ । गाउँगाउँमा निर्वाचन कार्यालय स्थापना भएका छन् । वैशाख ३० मा मतदान घोषणा गरिएको छ । काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका गाउँसम्म उम्मेदवारी दर्ताको क्रम सुरु भएको छ ।
प्रमुख राजनीतिक दलहरूले भने उम्मेदवारी दर्ताको पहिलो दिनसम्म पनि उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । ठूला राजनीतिक दलका उम्मेदवारहरूले सोमबार अन्तिम समयमा मात्रै दर्ता गर्ने बुझिएको छ ।
टिकटको टुंगो लगाउनका लागि राजनीतिक दलका शीर्ष तहदेखि जिल्लासम्म आइतबार पनि बैठक चलिरहेका छन् । सोमबार ५ बजेसम्म उम्मेदवारी दर्ता गराउनु पर्नेमा अन्तिम समयमा टुंगो लाग्ने सत्तारुढ गठबन्धन र एमालेको नेतृत्वको गठबन्धनको तयारी छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी पूरा भएको जनाएको छ । उसले निर्वाचन कार्यतालिका अनुसार नै काम धमाधम भइरहेको मनोनयन दर्ताको पूर्वार्धमा पत्रकार सम्मेलन गरेरै जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले वडासम्मै तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरूबीच कतिपय तहमा विवाद भए पनि महानगर र उपमहानगरमा भने कुनमा कसले उम्मेदवार बनाउने भन्ने टुंगो लागेको छ ।
त्यस्तै, प्रतिपक्षमा रहेको एमालेले केही स्थानीय तहमा राप्रपा, राप्रपा, नेपाल, परिवारदल, लोसपा लगायतसँग गठबन्धन गरेको छ । #कान्तीपूर