उखु किसान १५ दिनदेखि माइतीघरमा आन्दोलन गर्दै 

चिनी उद्योगीहरूबाट उखु किसानहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी

चक्र प्रसाद पोख्रेल १३ पुष २०७७, सोमबार ०७:३८


काठमाण्डौ :उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाण्डौ आएका किसानहरू गएको १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर अहिलेसम्म सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।
यसबीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने उनीहरू बताउँछन् ।

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर गएको १५ दिनदेखि उखु किसानहरू आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।
गएको सात वर्षदेखिको भुक्तानी मिल सञ्चालकहरूले नदिएपछि किसानहरू निर्णायक आन्दोलन गर्न भन्दै काठमाण्डौ आएका हुन् ।गएको वर्ष पनि उनीहरूले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाण्डौ आइ आन्दोलन गरिरहेका छन् । १५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुने झैँ गरी बसिरहेको छ ।
किसानहरूले आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्यभन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरूको गुनासो छ ।
उखु किसान सङ्घर्ष समितिका सदस्य माया शङ्करप्रसाद यादवले सरकारले प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भए पनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गर्नुभयो । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उहाँले बताउनुभयो ।
चिनी उद्योगीहरूबाट उखु किसानहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताइएको छ । गएको सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।
आन्दोलनरत किसानहरूले, ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौँ’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइँदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’ लगायतका नारासमेत लगाएका थिए ।

Next Post

हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो कुहिरो काठमाण्डौको तापक्रम आज २ दशमलव ९ डिग्रीमा

१३ पुष २०७७, सोमबार ०७:३८
काठमाण्डौ :काठमाण्डौ उपत्यकामा आज पनि तापक्रम घटेको छ ।केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी ठाउँहरुमा सामान्य कुहिरो लागेको छ । आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको […]