कर्णालीमा सरकारी चिकित्सकलाई निजी स्वास्थ्य संस्थामा काम गर्न निषेध

कर्णालीदृष्टि संवाददाता ५ भाद्र २०८२, बिहीबार ११:५५

सुर्खेत । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पताल वा क्लिनिकमा काम नगर्न निर्देशन दिएको छ ।

कार्यालय समयमा सरकारी अस्पतालमै सेवा दिनुपर्नेमा निजी संस्थामा संलग्न भएको गुनासो बढेपछि सामाजिक विकास मन्त्रालयले यसबारे कडा निर्देशन जारी गरेको हो ।

मन्त्रालयका सचिव धोलकराज ढकालका अनुसार कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने, विज्ञापन गर्ने वा स्वघोषणा नगरी सेवा सुविधा लिने कार्य कानुनविपरीत भएकाले यस्तो गतिविधि तत्काल बन्द गर्न भनिएको हो ।

पदीय मर्यादा, व्यक्तिगत आचरण र पेशागत अनुशासन पालना गरी जिम्मेवारी निर्वाह गर्न सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ, अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुन्छ, सचिव ढकालले चेतावनी दिए ।

स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीका अनुसार कर्णाली प्रदेशमा कार्यरत कर्मचारी र चिकित्सकको सेवा सुविधासम्बन्धी व्यवस्था, २०७६ बमोजिम स्वघोषणा नगरी निजी संस्थामा काम गर्ने चिकित्सकलाई सुविधा दिन नपाइने प्रावधान छ । तर पछिल्लो समय यस्तो गुनासो बढेपछि कडाइ गर्ने निर्णय भएको हो ।

मन्त्रालयले अबदेखि नियम उल्लंघन गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीमाथि नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार कारबाही हुने चेतावनी दिएको छ ।

Next Post

सुर्खेतमा प्रदेश स्थापना दिवसकाे अवसरमा बृहत सरसफाइ

५ भाद्र २०८२, बिहीबार ११:५५
सुर्खेत । कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घले सोमबार बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री यामलाल कँडेलले भदौ ४ गतेलाई कर्णालीवासीले सधैं सम्झने दिनको रूपमा लिने बताएका छन् । सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले प्रदेश स्थापना दिवसको मूल दिवस भदौ […]