मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजना अनुगमन

कर्णाली दृष्टि संवाददाता २४ पुष २०८२, बिहीबार ०९:२२

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले भेरी पम्पिङ आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा हुने सम्भावित जनसङ्ख्या वृद्धिलाई ध्यानमा राखेर अघि बढाइएको उक्त आयोजनाको प्रगति अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले लक्ष्यअनुसार तीव्र गतिमा काम भइरहेकोमा सन्तोष व्यक्त गर्नुभयो । अनुगमनका क्रममा मुख्यमन्त्री कँडेलले आयोजनालाई निरन्तरता दिँदै निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यो आयोजना संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको जानकारी दिँदै संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको सात प्रतिशत लगानी रहेको बताउनुभयो । मुख्यमन्त्री कँडेलका अनुसार आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी ‘सिज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल कर्पोरेसन’ले गत वर्षदेखि निरन्तर रूपमा अघि बढाइरहेको छ। उहाँले विगतमा निर्माण प्रक्रियाका केही चरण पूरा नगरी कार्यान्वयनमा जाँदा ढिलाइ भए पनि हाल काम प्रभावकारी रूपमा अघि बढिरहेको बताउनुभयो ।

तस्बिर मिसन टुडे

विगतका केही समस्या समाधान भइसकेको र प्रदेश सरकार तथा नगरपालिकाबीच सहकार्य र समन्वय निरन्तर कायम रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो। साथै, उहाँले ठेकेदार कम्पनीलाई हालकै गतिमा कामलाई निरन्तरता दिन निर्देशन दिनुभयो। आयोजना परामर्शदाता प्रमुख रमेश अधिकारीका अनुसार आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत पुगेको छ । पहिलो चरणमा करिब तीन अर्ब पाँच करोड आठ लाख १५ हजार २८० रुपैयाँ ६१ पैसाको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिइएको छ। भेरी नदीबाट करिब सात किलोमिटर दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ । पम्पिङ प्रविधिबाट सञ्चालन गरिएको यो आयोजना सन् २०२७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट सन् २०५० सम्म वीरेन्द्रनगरका बासिन्दालाई दीर्घकालीन रूपमा खानेपानी आपूर्ति हुने अपेक्षा गरिएको छ ।

Next Post

कर्णाली प्रदेश अस्पतालमा तनावः बालकको मृत्यु प्रकरणमा छानबिनको माग

२४ पुष २०८२, बिहीबार ०९:२२
सुर्खेत । कालिकोटका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले बुधबार अस्पताल परिसरमा भेला भएर आन्दोलन गरेका हुन् । कालिकोटको खाँडाचक्र नगरपालिका–२ निवासी उमेश बरालका २ वर्षीय छोरा सन्तोष बरालको उपचारका क्रममा मृत्यु भएको […]

सम्बन्धित समाचार