सुर्खेत । कालिकोटका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले बुधबार अस्पताल परिसरमा भेला भएर आन्दोलन गरेका हुन् । कालिकोटको खाँडाचक्र नगरपालिका–२ निवासी उमेश बरालका २ वर्षीय छोरा सन्तोष बरालको उपचारका क्रममा मृत्यु भएको हो । आफन्तहरूका अनुसार चिकित्सकको लापरबाहीकै कारण बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजे बालक आफ्नै घरको आँगनमा खेल्ने क्रममा लडेर घाइते भएका थिए । घाइते बालकलाई तत्काल जिल्ला अस्पताल मान्म लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
गएराति उपचारकै क्रममा बालकको मृत्यु भएको एसपी शाहीले जानकारी दिनुभयो । बालकको मृत्युको विषयलाई लिएर बुधबार बिहानैदेखि आफन्तहरू अस्पतालमा भेला भएका थिए । उनीहरूले छानबिनको माग गर्दै अस्पतालमा अवरोध गर्ने प्रयास समेत गरेका थिए । अस्पतालमा तनावको अवस्था सिर्जना भएपछि जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालय सुर्खेतबाट २ जना प्रहरी निरीक्षकसहित करिब ६० जनाको प्रहरी टोली खटाइएको थियो । प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिँदै मृतकका आफन्त र कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापाको नेतृत्वमा छलफल गराएको एसपी शाहीले बताउनुभयो । छलफलपछि अस्पतालले मृतक बालकको उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने तथा शवलाई घरसम्म पुर्याउने व्यवस्था मिलाउने प्रारम्भिक सहमति भएको छ । दुई पक्षबीच सहमति भएपछि अस्पतालको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।



