दैलेख । स्थानीय तहको निर्वाचनका लागि दैलेखमा नमुना मतदान गरिएको छ । बुधबार जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न डुगेश्वर गाउँपालिका–१ मा रहेका त्रिवेणी संगम माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको हो ।
नमुना मतदानमा वडाध्यक्षका उम्मेदवारले समेत मतदान गरेका छन् । नेकपा एमालेबाट डुगेश्वर गाउँपालिका –१ म वडाध्यक्षका उम्मेदवार लोकबहादुर डाँगी र गठबन्धनबाट उम्मेदवार हुनुभएका श्याम रानाले समेत मतदान गर्नुभएको थियो ।
नमुना मतदान गर्दै वडाध्यक्षका उम्मेदवार डाँगीले मतदान शिक्षा नहुँदा बढी मत बदर हुने सम्भावना बढेको बताउनुभयो । त्यस्तै, अर्का वडाध्यक्षका उम्मेदवार श्याम रानाले पार्टीको सैद्धान्तिक मत हाल्ने बानी परेका नागरिकलाई गठबन्धनका उम्मेदवारलाई मत हाल्न समस्या हुने बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका जिल्ला निर्वाचन अधिकृत मनमाया काउँचाले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा समय अभावका कारण नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको बताउनुभयो ।
नमुना मतदानमा ४८ जना सहभागी भएका थिए भने चार मत पूर्णरुपमा बदर र केही आंशिक बदर भएका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु शर्माले नमुना मतदानमा सहभागी भएकाहरूले मत खसाल्न झण्डै तीन मिनेट समय लगाएको बताउँदै नागरिकहरूलाई मतदाता शिक्षा अनिवार्य भएको बताउनुभयो ।
नमुना मतदानमा मानवअधिकारकर्मी, नागरिक समाज, कर्मचारी, पत्रकारलगायत सहभागी थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार दैलेखमा कुल एक लाख ५८ हजार ७८९ मतदाता रहेका छन् । जिल्ला भर एक सय ३६ मतदान केन्द्र र दुई सय सात मतदान स्थल रहेका छन् ।