सल्यान ।सल्यान जिल्लाको दार्मा गाउँपालिकामा भूकम्पपछि गरिएको विस्तृत क्षति आँकलन कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका अनुसार हालसम्म तीन हजार १४४ घरधुरीको क्षति विवरण सङ्कलन सम्पन्न भइसकेको छ । पुनर्निर्माण प्रयोजनका लागि प्राधिकरणको पोर्टलमा दर्ता भएका चार हजार ४७ घरधुरीमध्ये शनिबारसम्म तीन हजार १४४ घरको क्षति मूल्याङ्कन सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए। उहाँका अनुसार अब ९३० घरधुरीको विवरण सङ्कलन बाँकी रहेको छ र बाँकी काम एक हप्ताभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पालिकाका प्राविधिकलाई तालिम दिएपछि गत मङ्सिर १५ गतेदेखि दार्मा गाउँपालिकामा क्षति आँकलन कार्य सुरु गरिएको थियो । वडागत रूपमा हालसम्म वडा नं। १ मा ४५०, वडा नं। २ मा ५०१, वडा नं। ३ मा ५२२, वडा नं। ४ मा ४६७, वडा नं। ५ मा ७०५ र वडा नं। ६ मा ४९९ घरधुरीको क्षति विवरण सङ्कलन सम्पन्न गरिसकेको छ ।
क्षति विवरण सङ्कलन कार्य पूरा भएपछि भूकम्पबाट प्रभावित घरधुरीलाई राहत, पुनर्निर्माण तथा सहयोग कार्यक्रम कार्यान्वयन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय सल्यानको निरन्तर पहलपछि भूकम्प गएको करिब दुई वर्षपछि मात्रै क्षति आँकलनको काम सुरु भएको हो । चिसो र गर्मी मौसममा अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितहरूमा अब नयाँ घर निर्माण हुने आशा पलाएको छ । २०७८ कात्तिक १७ गतेको जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पबाट दार्मासहित जिल्लाका अन्य पालिकामा पनि क्षति पुगेको थियो । उक्त भूकम्पबाट बागचौर नगरपालिकामा १५२, कुमाख गाउँपालिकामा १२९ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति पुगेको विवरण आएको छ ।



