
सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाको १७ औँ गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न ऐन, कार्यविधि तथा समसामयिक प्रस्तावहरू पारित गरेको छ।
अधिवेशनमा चालु आर्थिक वर्ष ०८२ र ०८३ मा हालसम्म सञ्चालन तथा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष बिसीले जानकारी दिनुभयो। उहाँका अनुसार सभाबाट स्वीकृत भइसकेका केही योजनाहरूमा आवश्यक संशोधनसमेत पारित गरिएको छ।
अध्यक्ष बिसीले समृद्ध र समुन्नत गुराँस गाउँपालिका निर्माणका लागि पालिकाले भौतिक पूर्वाधार विकाससँगै स्वास्थ्य, शिक्षा र कृषिमा प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो।
र्
ृउहाँले कृषिमा क्रान्ति ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो।
अधिवेशनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विनोदकुमार शाहले गुराँस गाउँपालिकाले समग्र विकास र सेवा प्रवाहमा प्रभावकारी काम गरिरहेको बताउनुभयो। उहाँले स्थानीय तहको सशक्तिकरण, कृषि उत्पादन वृद्धि तथा सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
मन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
१७औँ अधिवेशनले गुराँस गाउँपालिकाको विकासको यात्रालाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।


