
रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ को वडा कार्यालयले नगरपालिकाबाट खटाइएकी स्थायी कर्मचारीलाई हाजिरी गर्न नदिई फिर्ता पठाएको घटनाले करार र स्थायी कर्मचारीबीचको व्यवस्थापन विवाद आएको छ । नगरपालिकाले वडा सचिवको जिम्मेवारीमा खटाएकी सहायकस्तर चौथो तहकी स्थायी कर्मचारी देवी ओलीलाई वडा कार्यालयले हाजिरी नगराई चिठीसहित नगरपालिकामै फिर्ता पठाएको हो । ओली पुस ४ गते रमाना लिएर वडा कार्यालय पुगेकी थिइन् ।
मुसीकोट नगरपालिकाका प्रशासन शाखा प्रमुख कुवेर केसीका अनुसार वडा समितिको बैठकबाटै स्थायी कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरिएको हो । फिर्ता पठाइएकी देवी ओली हाल नगरपालिकामै रहेर पञ्जीकरणसम्बन्धी काम गरिरहेकी छन् । करार कर्मचारीको म्याद पुस मसान्तसम्म मात्र रहेकाले यस विषयको अन्तिम निर्णय कार्यपालिका बैठक वा नगरसभाबाट हुने उहाँले बताउनुभयो ।
वडा अध्यक्ष गोविन्दबहादुर बुढाका अनुसार वडा कार्यालयमा यसअघि नगरपालिकाको कम्प्युटर अपरेटर पदमा करार सेवामा कार्यरत सहायकस्तर पाँचौँ तहका धनकुमार शाही सचिवको जिम्मेवारीमा कार्यरत छन् । शाहीलाई वैकल्पिक जिम्मेवारी नतोकी स्थायी कर्मचारी पठाइएको भन्दै वडा कार्यालयले तत्काल हाजिरी नगराउने निर्णय गरेको उहाँको भनाइ छ । “पहिला कोही पनि सचिवका रूपमा आउन नमान्दा शाहीले जिम्मेवारी सम्हाल्नुभयो । उहाँ कात्तिकदेखि तलबबिनै काम गरिरहनुभएको छ,” वडाध्यक्ष बुढाले भन्नुभयो, “काम गरिरहेको कर्मचारीको विषयमा टुङ्गो नलागेसम्म नयाँ सचिवलाई हाजिरी नगराउने निर्णय गरियो ।” हाजिरी गराउने वा फिर्ताको पत्र दिने भन्ने विकल्पमध्ये फिर्ता पठाउने निर्णय वडा बैठकबाट गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
नगरपालिकाले स्रोत अभावका कारण कात्तिक महिनादेखि करार कर्मचारीलाई तलब दिन सकेको छैन । नगर शिक्षक र स्वास्थ्य क्षेत्रका कर्मचारीबाहेक करिब एक दर्जन कर्मचारी करार सेवामा कार्यरत छन् । ती करार कर्मचारीहरूको करार सम्झौता अवधि पुस मसान्तसम्म मात्र रहेको छ । चालु आर्थिक वर्षमा करार कर्मचारीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय नगरपालिकाले गत भदौमा सार्वजनिक गरे पनि विभिन्न दबाबका कारण उक्त निर्णय फिर्ता लिएको थियो । यस विषयमा अन्तिम टुङ्गो कार्यपालिका बैठकमार्फत लाग्ने नगरपालिकाले जनाएको छ ।


