हुम्ला । नाम्खा गाउँपालिका छ अन्तर्गत पर्ने लाप्चा क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिए पनि आवश्यक पूर्वाधारको अभावले यसको विकासमा चुनौती थपिएको छ । समुद्री सतहबाट पाँच हजार एक सय ३० मिटर उचाइमा रहेको लाप्चाबाट मानसरोवर–कैलाशको दूरदर्शन गर्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार लाप्चा पुग्ने मुख्य मार्ग सल्लीदेखि लाप्चासम्मको सडक दशकअघि ट्र्याक खोलिए पनि हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

सडक अधिकांश स्थानमा खाल्डाखुल्डी, ढुङ्गाम्य, हिलाम्मे र धुलाम्मे भएकाले यात्रा निकै कष्टकर बनेको छ । सिमकोटदेखि लाप्चासम्म करिब ८६ किलोमिटर दूरी भए पनि सल्लीदेखि लाप्चासम्मको ५० किलोमिटर सडक सबैभन्दा जोखिमपूर्ण मानिन्छ । स्थानीय चालक सिङ्गम भण्डारीले न्यालु लेक क्षेत्रमा हिउँमाथि यात्रा गर्नुपर्ने भएकाले यात्रु र चालक दुवैले कठिनाइ भोग्नुपरेको बताए । सडकको कमजोर अवस्थाका कारण पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती हुने गरेको छ ।
सडकसँगै सञ्चार सेवाको अभाव पनि अर्को समस्या बनेको छ । पर्यटक राजबहादुर लामाका अनुसार सल्ली पार गरेपछि नेपाल टेलिकमको नेटवर्क उपलब्ध हुँदैन । इन्टरनेट सेवा नहुँदा पर्यटकहरू सम्पर्कविहीन अवस्थामा यात्रा गर्न बाध्य छन् । लाप्चा क्षेत्रमा खानेपानीको सुविधा समेत पर्याप्त छैन । पर्यटकहरूले पिउने पानी आफैँ बोकेर लैजानुपर्ने अवस्था रहेको छ ।
पूर्वाधार विकास कार्यालय हुम्लाले आगामी आर्थिक वर्षमा केही सडक स्तरोन्नति गर्ने योजना रहेको जनाएको छ । स्थानीयवासीका अनुसार सडक, सञ्चार र खानेपानीजस्ता आधारभूत पूर्वाधार विकास गर्न सके लाप्चामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्न सक्नेछ। मानसरोवर–कैलाशको दूरदर्शन गर्न चाहने पर्यटकका लागि लाप्चा महत्वपूर्ण गन्तव्य बन्दै गएको छ ।


