लेकबेशी नगरपालिका पूर्ण खोप सुनिश्चित

कर्णालीदृष्टि संवाददाता २८ जेष्ठ २०८३, बिहीबार २२:४६

सुर्खेत । लेकबेशी नगरपालिकालाई एक विशेष कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकाले अनिवार्य रूपमा पाउनुपर्ने १३ प्रकारका खोप पूर्ण रूपमा प्राप्त गरेको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो । सरकारको स्वास्थ्य नीति अनुसार जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न घातक रोगबाट बचाउन १३ प्रकारका खोप अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था छ । सोही नीतिअनुसार नगरपालिकाले सबै लक्षित बालबालिकामा खोपको पहुँच सुनिश्चित गर्न सफल भएको जनाएको छ ।

खोप अभियानका क्रममा कुनै कारणले समयमै खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकाको पहिचान गरी स्थानीय स्वास्थ्य शाखामार्फत विशेष खोजी गरिएको जनस्वास्थ्य अधिकृत निरञ्जन चन्दले जानकारी दिए । पहिचान गरिएका सबै बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराएपछि मात्र पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको उनले बताए । नगर प्रमुख उमेश पौडेलका अनुसार लेकबेशी नगरपालिकाका १० वटै वडामा व्यापक खोप अभियान सञ्चालन गरिएको थियो ।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सक्रिय सहभागितामा घरदैलो सर्वेक्षण गरी खोप छुटेका बालबालिका पहिचान गरिएको उनले जानकारी दिए । अभियान सफल बनाउन स्वास्थ्य संस्था व्यवस्थापन समिति, वडा खोप समन्वय समिति, आमा समूह, शिक्षक तथा विभिन्न संघसंस्थाको समेत समन्वय र सहकार्य महत्वपूर्ण रहेको नगरपालिकाले जनाएको छ । सबै सरोकारवालाको संयुक्त प्रयासपछि नगरभित्र कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नरहेको सुनिश्चित गर्दै यो उपलब्धि हासिल गरिएको हो ।

Next Post

पूर्वाधार अभावले लाप्चा पर्यटन विकासमा चुनौती

२८ जेष्ठ २०८३, बिहीबार २२:४६
हुम्ला । नाम्खा गाउँपालिका छ अन्तर्गत पर्ने लाप्चा क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिए पनि आवश्यक पूर्वाधारको अभावले यसको विकासमा चुनौती थपिएको छ । समुद्री सतहबाट पाँच हजार एक सय ३० मिटर उचाइमा रहेको लाप्चाबाट मानसरोवर–कैलाशको दूरदर्शन गर्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । प्रमुख जिल्ला […]