कटान र पहिरोले कर्णालीको करिडोर अवरुद्ध

कर्णालीदृष्टि संवाददाता २८ जेष्ठ २०८३, बिहीबार २३:००

कालीकोट । लगातारको वर्षासँगै आएको पहिरो र नदी कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठूलो क्षति पुगेको छ । कालीकोट खण्डअन्तर्गत सडकको एक भाग भासिएर कर्णाली नदीतर्फ खसेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षाले सडकको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् । सडकको महत्वपूर्ण भाग नदीले बगाएपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

स्थानीयका अनुसार केही दिनयता परेको निरन्तर वर्षाले सडक कमजोर बनाएको थियो । मङ्गलबार राति आएको बाढी र पहिरोले सडक भत्काएपछि करिडोर हुँदै हुने यातायात सेवा बन्द भएको बताए । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको ओसारपसार तथा स्थानीय जनजीवनमा प्रत्यक्ष असर परेको छ ।

 

ग्रामीण क्षेत्रका अधिकांश सडकसमेत सञ्चालन हुन सकेका छैनन्। सडक डिभिजन कार्यालयले क्षतिको विवरण सङ्कलन गरी मर्मत तथा पुनःस्थापनाको प्रक्रिया अघि बढाएको जनाएको छ । तर लगातार वर्षा भइरहेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार सडक खुलाउन स्काभेटर परिचालन गरिएको छ ।

विभिन्न स्थानमा क्षति पुगेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने उनले जानकारी दिए । स्थानीयवासीहरूले कर्णाली करिडोरमा हरेक वर्ष दोहोरिने पहिरो र कटानको समस्या समाधान गर्न दीर्घकालीन संरक्षण योजना लागू गर्न सरकारसँग माग गरेका छन् । रणनीतिक महत्व बोकेको यस सडकको नियमित मर्मत–सम्भार र जोखिम न्यूनीकरणमा पर्याप्त ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

Next Post

जुम्लामा कृषि उपजबाट करोडौ आम्दानी

२८ जेष्ठ २०८३, बिहीबार २३:००
जुम्ला । हिमाली जुम्लामा उत्पादित अर्गानिक कृषि उपजको बिक्रीबाट गत आर्थिक वर्ष २०८०र८१ मा ६९ करोड १५ लाख ६१ हजार रुपैयाँ आम्दानी भएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा उत्पादन हुने कृषि वस्तुको बजारमा उच्च माग रहेकाले किसानहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भएको हो । कार्यालय प्रमुख रामभक्त अधिकारीका […]