पहिले–पहिले गाउँघरमा परालको गुन्द्री तथा शुकुल अत्याधिक प्रयोग हुन्थ्यो । आजकाल भने परालको गुन्द्री र शुकुल प्रयोग गर्नेको संख्या घट्दै गएको छ । गाउँघरमा गुन्द्री तथा शुकुलको सट्टा अन्य आधुनिक उत्पादन प्रयोग हुन थालेपछि परालको गुन्द्री र शुकुल लोप हुने अवस्थामा पुगेका छन । विगतमा परालको गुन्द्री र शुकुल प्रयोग गरेका बुढापाका भने परालको गुन्द्री र शुकुल लोप हुने अवस्थामा पुगेपछि चिन्तित छन् ।पारिलो घाम, घर नजिकै परालको गुन्द्री बुन्ने तान, तानमाथि बसेर गुन्द्री बुनेको दृश्य गाउघरमा पहिले जति धेरै देखिन्थ्यो अहिले उति नै कम देख्न सकिन्छ ।
गुन्द्री तथा शुकुल बुन्नु आफ्नो आवश्यकता पूर्ति गर्नु मात्र पनि होइन । आत्मनिर्भर बन्नु पनि हो । पछिल्लो समय गाउँघरमा गुन्द्री र शुकुल बुन्न जान्नेको संख्या घट्दै गएको छ अझ गुन्द्री बुन्नेको संख्या बरु कतै देख्न सकिन्छ तर शुकुल बुनेको देख्न भने अब गाह्रो पर्छ। प्लाष्टिकको गुन्द्रीजन्य सामग्रीले गाउँघरमा बसोबास गर्नेलाई परनिर्भर मात्र बनाएको छैन । नयाँ पुस्तामा पुख्र्यौली शिप हस्तान्तरण हुने परम्परा समेत हराउँदै गएको छ । निश्चित पैसामा प्लाष्टिकबाट बनेको गुन्द्री पाउन थालेपछि नयाँ पुस्ता गुन्द्री बुन्ने शिप सिक्न समेत अल्छी मान्छन् ।
गुन्द्री र शुकुल बुन्न अन्य काम गरे जस्तो कठिन छैन । कच्चा पदार्थ पनि सजिलै उपलब्ध हुन्छ । व्यक्तिगत प्रयोगका गुन्द्री तथा शुकुल बुन्न निश्चित समय नै छुट्याउनु पर्छ भन्ने हुँदैन । फुर्सदको समयमा बुने पनि एउटा परिवारका लागि पुग्दो हुन्छ । तर, आधुनिकताको नाममा अहिले गुन्द्री तथा शुकुल बुन्ने परम्परा हराउँदै गएको छ । जसले, परनिर्भरता मात्र बढाएको छैन, पुख्र्यौली शिप नयाँ पुस्तामा हस्तान्तरण गर्ने परम्परा समेत हराउने भएको छ ।