काठमाडौ :सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठीलगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
केही दिनयता छिमेकी देश भारतलगायत देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सर्तकता अपनाउन आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाड, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।
मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर मास्कको अनिवार्य र उचित प्रयोग गर्न तथा साबुन पानी राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।
‘मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी कोभिड–१९ को सङ्क्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध छ’, विज्ञप्तमा भनिएको छ ।