गणकलाई दार्चुलाको छाङरु जान भारतले बाटो दिएन

कर्णालीदृष्टी संवाददाता २ मंसिर २०७८, बिहीबार ०७:११

दार्चुला । भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन ।

कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक–गर्ब्याङ हुँदै महाकाली नदीको पुल (सीता पुल) तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । तर, एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएको छैन ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पहिलोपटक कात्तिक २५ मा भारतीय बाटो हुँदै छाङरु जान पासको व्यवस्थाका लागि पत्राचार गरिएकामा कुनै जवाफ नआएको बताईन । पहिलो पत्रको जवाफ नआएपछि मंगलबार र बुधबार पुनः दुई पत्र पठाइएको र त्यसको पनि जवाफ नआएको उनले जानकारी दिइन ।

लिखित पत्राचारबाहेक प्रशासनले मौखिक रूपमा पनि अनुमति दिन भएको ढिलाइबारे भारतीय प्रशासनसँग कुरा गरेको थियो तर उताबाट ‘हुन्छ, प्राविधिक कारणले हो’ भन्ने जवाफमात्रै आएको प्रशासन स्रोतको भनाइ छ ।

भारतीय बाटो हुँदै छाङरु जान नदिएकोबारे दार्चुला प्रशासनले गृह मन्त्रालयलाई समेत मौखिक जानकारी गराइसकेको छ । जनगणनामा खटिएका अधिकारीहरूले तथ्यांक विभागलाई पनि यसको जानकारी गराएका छन ।

सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले समेत भारतीयबाट भएको अवरोधबारे हेडक्वार्टरलाई जानकारी गराइसकेको छ ।

‘नेपालको बाटो हुँदै छाङरु र टिंकर जान भौगोलिक कठिनाइ भएपछि भारतीय भूमिबाट सीता पुल तरेर जाने व्यवस्थाका लागि आवश्यक समन्वय गर्न हामीले भारतीय प्रशासनको धार्चुला तहसिल कार्यालयलाई तीन वटा पत्र पठाइसक्यौं, त्यसको बोधार्थ समकक्षी कार्यालय पिथौरागढस्थित जिल्लाधिकारीलाई पनि दिएका छौं,’ सहायक प्रजिअ भट्टले भनिन्, ‘तर पत्रको जवाफ आएको छैन, जनगणनाका लागि खटिनुभएका कर्मचारी खलंगामै रोकिनुपरेको छ ।’

यसअघिको तथ्यांकअनुसार टिंकरमा करिब ७५ र छाङरुमा करिब १ सय २५ घरधुरी थिए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यस विषयमा दार्चुला प्रशासनसँग थप बुझेर जानकारी गराउन सकिने बताए । # ई कान्तीपुर

Next Post

नेकपा माओवादी केन्द्रद्धारा नारायण ४ मा भेटघाट, दुई दर्जन बढी माओवादी केन्द्रमा प्रबेश

२ मंसिर २०७८, बिहीबार ०७:११
दैलेख । नेकपा माओवादी केन्द्र दैलेखले जिल्लाको नारायण नगरपालीका वडा नम्बर ४ मा मंगलबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । भेटघाट कार्यक्रममा दैलेखको सदरमुकाम नजीकै रहेको नारायण नगरपालीका वडा नम्बर ४ नुन्नीनेचौरका झण्डै २ दर्जन बढी व्यक्ती बिभीन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन । विगतमा भएको […]