लकडाउनको समयमा हेर्नुहोस् यी १० वटा फिल्म

चक्र प्रसाद पोख्रेल १८ बैशाख २०७८, शनिबार २०:५३

काठमाडौं :कोरोनाको दोस्रो लहरका कारण उपत्यकालगायत देशका तीन दर्जन भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसका कारण सर्वसाधारण जनता घरभित्र सीमित हुन बाध्य छन् ।

घरमै सीमित भएर बस्नुपर्दा मनोविद्,चिकित्सक तथा विद्वानहरूले पुस्तक पढ्न,फिल्म हर्न र विभिन्न मनोरञ्जनात्मक सामग्री अपनाउन सल्लाह दिने गर्छन् । मनोरञ्जन र टाइमपासका लागि सबैभन्दा उपयुक्त विकल्पहरुमध्ये एक फिल्म पनि हो । फिल्म त हेर्ने तर कस्तो ?धेरैको सोच यही हुन सक्छ । यो समयमा विभिन्न दृष्टिबाट उपयुक्त ठानिएका १० फिल्मको चर्चा यहाँ गर्न खोजिएको छ । तीमध्ये अधिकांश युट्युबमै उपलब्ध रहेका छन् भने केही विभिन्न इन्टरनेट प्लेटफर्ममा हेर्न सकिन्छ ।

पशुपतिप्रसाद

दीपेन्द्र के खनाल निर्देशित ‘पशुपतिप्रसाद’ व्यावसायिक र सफल फिल्म हो । समीक्षक तथा दर्शक दुवैले मनपराएको यो फिल्म गाउँबाट सहर पसेर पैसा कमाउने एक युवाको जीवन सङ्घर्षको कथामा केन्द्रित रहेको छ । फिल्मको मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने छन् । जसको अभिनय सबैले रुचाएका थिए । पशुपतिनाथ मन्दिर परिवेशमा खिचिएको र त्यहाँको लास पोल्ने,खोलामा पैसा र सुन खोज्नेदेखि जोगी र वृद्धवृद्धासम्मको कथा फिल्मले उठाएको छ । फिल्ममा हनुमानजी र भस्मे डन पात्र पनि छन् । भस्मे डनका रूपमा विपिन कार्कीलाई देख्न सकिन्छ ।

बलिदान

विसं २०४६ को आन्दोलन नेपालको राजनीतिमा विशेष महत्त्व राख्छ । तीस वर्ष लामो पञ्चायती व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले यो आन्दोलनमा बलिदान दिएका थिए । देश र प्रजातन्त्रका लागि आफ्नो प्राण दाउमा राख्नेहरुको कथा हो फिल्म ‘बलिदान’ ।

तुलसी घिमिरेको निर्देशन,मोदनाथ प्रश्रितको कथा रहेको फिल्ममा राल्फाली रामेशको सङ्गीतमा राजनीतिक चेतनाले भरिएका गीतहरू राखिएको थियो । नेपाली फिल्मको इतिहासमा ‘बलिदान’ जस्ता फिल्म बन्न अब मुस्किल भएको धेरैको भनाइ छ । फिल्ममा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,अञ्जना श्रेष्ठ,नीर शाहलगायतको अभिनय रहेको छ ।

लाइफ इज ब्युटिफुल

बाबु र छोरा एउटा नाजी क्याम्पभित्र थुनिएको कथामा वाचन गर्ने यो इटालीको फिल्म हो । फिल्ममा नाजी क्याम्पभित्रको त्रासदी वातावरणबाट आफ्नो सानो छोरालाई मनोवैज्ञानिक रूपमा जोगाउन एक बुबाले गर्ने सङ्घर्ष र उनलाई हसाउन गर्ने व्यवहार कथा बुनिएको छ । एक किसिमले हेर्ने हो भने फिल्म रमाइलो छ । समाजका शक्तिशालीले अरूमाथि दमन गर्ने कुरा जहिले पनि खतरनाक हुन्छ । त्यही पेरिफेरिको कथाभन्दा पनि हो,‘लाइफ इज ब्युटिफुल’ । एकदमै पीडादायक फिल्मले शासकले तहसनहस गर्दैमा जीवन तहसनहस हुँदैन । कहीँ न कहीँबाट जीवन उदाएर आउँछ । जीवन एकदमै सुन्दर छ भन्ने सन्देश दिन खोजेको छ ।

द लन्चबक्स

रितेस बत्रा निर्देशित सन् २०१३ को ‘द लन्चबक्स’लाई ओस्कारका लागि भारतको प्रतिनिधित्व गर्न सक्ने फिल्मका रूपमा हेरिएको थियो । तर गुजराती फिल्म ‘द गुड रोड’लाई सो समय ओस्कार पठाइयो ।

थुप्रै अवार्ड कार्यक्रममा मनोनीत र पुरस्कृत यस फिल्मको सबैभन्दा ठूलो उपलब्धि भनेको बेलायतको ओस्कार अर्थात् बाफ्टा अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म विधामा मनोनित हुनु रह्यो । यसलाई अभिनेता इरफान खानको सम्झना योग्य फिल्म मानिन्छ । फिल्मबाट जीवन उपयोगी धेरै कुरा सिक्न सकिन्छ ।

पिएटा

दक्षिण कोरियाली निर्देशक किम कि दुकको सन् २०१३ को ‘पिएटा’ अन्तर्राष्ट्रिय क्षेत्रमा तहल्का मच्चाउन सफल फिल्म हो । यसले ६९औँ भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड गोल्डेन लायन जितेको थियो । संसारका उत्कृष्ट तीन महोत्सव भेनिस,कान्स र बर्लिनमध्ये कुनै एकमा मुख्य अवार्ड जित्ने पहिलो कोरियाली फिल्म हो यो ।

नुमाफुङ

नेपाली समाज र संस्कृतिमा आधारित कथा समावेश गरी बनाइएको उत्कृष्ट फिल्ममध्ये एक हो नुमाफुङ ।

नवीन सुब्बाको निर्देशन रहेको फिल्म लिम्बू समुदायमा प्रचलित छोरी दिँदा कुटुम्बसँग नगद,सुन आदि लिने चलन सुनौली–रूपौली प्रथा र त्यसले निम्त्याउने अप्ठ्यारो कथा बनाइएको छ । फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएर प्रशंसा र पुरस्कारसमेत जित्न सफल भएको छ ।

अनुपमा सुब्बा,निवाहाङमा लिम्बु,प्रेम सुब्बा,अलोक नेम्बाङलगायतको फिल्ममा अभिनय रहेको छ ।

 

बाबेल

हेर्नेपर्नेमध्येको एक महत्त्वपूर्ण फिल्म हो बाबेल । एकअर्कालाई बुझ्न एकअर्काको कुरा सुन भनेर फिल्मले भन्छ । हाम्रो समाज ‘माइग्रेडेट’ समाज हो । एक ठाउँको मानिस अर्को ठाउँमा गएर बस्ने क्रम निरन्तर चलिरहेको हुन्छ । यसले गर्दा हामीलाई एक अर्काको भाषा बुझ्दैनौँ,संस्कृति बुझ्दैनौँ । नबुझे पनि कमसेकम सुन र त्यो सुनाइले उसको अनुहारमा देखिएको पीडालाई अनुभूति गर भन्ने बुझाउने फिल्म हो–‘बाबेल’ ।

फिल्म सुन्दर छ । फिल्ममा तीन देशका परिवारको सङ्घर्ष कथामा छ । ती मानिसको घटना,परिघटना एकअर्कोसँग बाँधिएको देखाइएको छ । यसले जीवन जहाँ भए पनि कतै न कतै कोही न कोहीको जीवन गाँसिएको महसुस गराउँछ । फिल्म एलेजान्द्रो गोन्जालेज इनारितुले निर्देशन गरेका हुन् । दक्षिण अमेरिकी क्षेत्रको फिल्महरूको कथा भन्ने शैलीको अनुभव गर्नका लागि यो फिल्म राम्रो छ ।

साँघुरो

साँघुरोलाई नेपाली फिल्मको दायरा फराकिलो बनाउने फिल्मका रूपमा पनि हेर्न गरिन्छ । यौन मनोविज्ञानमा आधारित फिल्मले एक सुकुम्बासी बस्तीको गरिब दम्पत्तीको कथा देखाउन खोजेको छ ।

शुशांक मैनाली,दिया मास्के,अरुणा कार्की र दयाहाङ राईको अभिनय रहेको यस फिल्ममा सुकुम्बासी बस्तीको एउटा छाप्रोभित्र दुःखसुख जिन्दगी कटाइरहेका आमा र छोरामा बुहारी थपिएपछिको कथा छ । बिहेपछि शारीरिक सम्बन्ध राख्न परिस्थिति अनुकूल नहुँदा एक जोडीको सङ्घर्ष फिल्मले नजिकबाट देखाउने प्रयास गरेको छ । सानो कथा सानै परिवेश,मानवीय कुण्ठा र मनोविज्ञानको सूक्ष्म चित्रण गरेको जोयस पाण्डे निर्देशित फिल्म विनोद पौडेलले लेखेका हुन् ।
लुट

नेपाली फिल्म इतिहासमा लुटको फरक महत्त्व रहेको छ । सङ्कटकाल लाग्ने अवस्थामा रहेको फिल्म उद्योगलाई व्यावसायिक धारमा उभ्याउन सफल ‘लुट’ माधव वाग्लेले निर्माण गरेका हुन् । यो फिल्मलाई नेपाली फिल्मको धार परिवर्तन गर्ने सूत्रधारका रूपमा पनि लिइन्छ । सौगात मल्ल,दयाहाङ राई,कर्मा,ऋचा शर्मालगायत कलाकारको अभिनय रहेको लुटले युवापुस्ताको नयाँ सोचको प्रतिनिधित्व गरेको थियो ।

निश्चल बस्नेतको निर्देशन रहेको यो फिल्ममा बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा परेर बैङ्क लुट्ने मास्टर प्लान पूरा गर्ने प्रयास र उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा भन्छ । कथाभन्दा प्रस्तुतिका कारण रुचाइएको फिल्ममा काठमाडौँका गल्लीदेखि भट्टीसम्मका दृश्य समेटिएको छ । लुटलाई धेरैले सशक्त फिल्मका रूपमा समेत हेरेका छन् ।

झोला

सय वर्ष पहिलेको नेपाली समाजमा रहेको सती प्रथाको विषय उठान गरेको फिल्म हो ‘झोला’ । यसको कथाले सबैलाई रुवाउन सामथ्र्य राख्छ । २०७० सालमा रिलिज भएको यो फिल्म यादव भट्टराईले निर्देशन गरेका हुन् । देश विदेशका विभिन्न फिल्म फेस्टिबलमा पुरस्कृतसमेत भएको यो फिल्म नेपालबाट अस्कर अवार्डका लागि पनि पठाइएको थियो । फिल्मकी अभिनेत्री गरिमा पन्तले यही फिल्मबाट ‘सार्क फिल्म फेस्टिबल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् ।

यो फिल्ममा गरिमा पन्तसँगै देशभक्त खनाल,दीपक क्षेत्री,सुजल नेपाल,लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । राज तिम्सिना,मालती शाह,सुशील शाह,रामगोपाल श्रेष्ठको लगानी रहेको फिल्म कृष्ण धरावासीको कथामा आधारित भएर निर्माण भएको हो ।

Next Post

मुख्यमन्त्री शंकर पोखरेले गरे पदबाट राजिनामा

१८ बैशाख २०७८, शनिबार २०:५३
लुम्बिनी प्रदेशका  मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका छन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त […]