राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान

कर्णालीदृष्टी संवाददाता १२ माघ २०७८, बुधबार ०७:०४

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ । बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नु पर्ने छ ।

प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन ।

निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

प्रदेश १ को विराटनगर, मधेस प्रदेशको जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेतमा मतदान स्थल तोकिएको छ ।

निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन ।

प्रदेश १, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन पदका लागि र मधेश प्रदेश र बागमतीमा दुई–दुई जना निर्वाचित हुनेछन ।

नौ दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन । सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने एमालेले भने मधेस वाहेकका सबै प्रदेशमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएको छ । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी र एमालेको गठबन्धन रहेको छ ।

राष्ट्रिय सभामा २० सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ । एक जना भने राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ ।

Next Post

नेपालको जनसङ्ख्या २ करोड ९१ लाख : वृद्धिदर घट्याे, मधेस प्रदेशमा जनसङ्ख्या धेरै

१२ माघ २०७८, बुधबार ०७:०४
काठमाण्डाै – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ […]