आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ

कर्णाली दृष्टि संवादाता २८ बैशाख २०७८, मंगलवार ०८:४४

काठमाडौं :आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा.रामचन्द्र गौतमले बताए ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बुवाभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ । मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए।

गएको वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । आमा नहुनेहरु औँसीका दिन बिहानै त्यस तीर्थमा गएर स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ ।

Next Post

काठमाडौ उपत्यकामा विवाह–व्रतबन्ध पार्टी प्यालेसमा गर्न नपाइने, घरमै गर्न परे बढीमा १० जना

२८ बैशाख २०७८, मंगलवार ०८:४४
काठमाडौ :अब काठमाडौ उपत्यकामा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न नपाइने भएको छ । ​मङ्गलवार काठमाडौ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गर्दै पार्टी प्यालेसमा विवाहलगायतका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको हो । विवाहलगायतका कार्यक्रम घरमै गर्ने भएमा बढीमा […]