कर्णालीका ३२ स्थानीय तहमा बालविवाह अन्त्य रणनीति तयार

कर्णाली दृष्टि संवाददाता २६ पुष २०८२, शनिबार १०:३४

सुर्खेत  । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३२ वटा पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । प्रदेशमा देशकै उच्च दरमा बालविवाहका घटना देखिन थालेपछि बालविवाहविरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ती पालिकाहरूमा रणनीति निर्माण गरिएको हो । पछिल्ला तीन वर्षको अवधिमा यी रणनीतिहरू तयार भएका हुन् । सञ्जालकी वकालत अधिकृत निकिता कठायतका अनुसार कर्णाली प्रदेशका एक सयभन्दा बढी सङ्घ–संस्था सञ्जालमा आबद्ध छन् र सञ्जालको मुख्य उद्देश्य बालविवाह अन्त्य गर्नु हो । उहाँले सञ्जालको सहयोगमा ३२ स्थानीय तहमा बालविवाह अन्त्यसम्बन्धी रणनीति तयार भइसकेको जानकारी दिनुभयो । साथै, सञ्जालको पहलमा कर्णाली प्रदेश सरकारले पनि प्रदेशस्तरीय बालविवाहविरुद्धको रणनीति निर्माण गरिसकेको उहाँले बताउनुभयो । बाँकी पालिकाहरूमा समेत रणनीति तयार गर्ने काम निरन्तर भइरहेको उहाँको भनाइ छ ।

रणनीति तयार भएपछि स्थानीय तहलाई बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन गर्न सहज हुने र यसले बालविवाहका घटनामा कमी ल्याउने अपेक्षा गरिएको छ ।  यही अवधिमा सञ्जालले २० वर्षमुनि बालविवाह गरेका १२० बालिकालाई अत्यावश्यक उद्धार तथा सहयोगसमेत गरेको जनाएको छ । बालविवाहका कारण सबैभन्दा बढी असर बालिकामा पर्ने र त्यसले उनीहरूको सामाजिक, शारीरिक, मानसिक तथा शैक्षिक जीवनमा गम्भीर क्षति पुर्‍याउने भएकाले रणनीति निर्माणलाई प्राथमिकता दिइएको कठायतले बताउनुभयो । सञ्जालका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, वराहताल गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका, डोल्पाको जगदुल्ला गाउँपालिकालगायतका स्थानीय तहमा बालविवाह अन्त्य रणनीति तयार भइसकेको छ ।

Next Post

बस सेवा खुलेपछि हुम्ला–काठमाडौँ भाडा घट्यो

२६ पुष २०८२, शनिबार १०:३४
हुम्ला ।  हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालनमा आएको छ । यसअघि केवल बोलेरो जिपमार्फत यात्रा गर्दा यात्रुहरूले बढी भाडा तिर्नुपर्ने बाध्यता थियो । तर बस सेवाको सुरु भएपछि भाडा निकै सस्तो भएको यात्रु धर्मराज रोकायाले जानकारी दिनुभयो । सिमकोटबाट नेपालगञ्जसम्म बसमा यात्रा गर्दा अब दुई दिनमा पाँच हजार […]