आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाईदै

कर्णालीदृष्टी संवाददाता ३ चैत्र २०७८, बिहीबार ०७:४८

दैलेख । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय केही सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ यस वर्ष पनि तराईमा (भोली) शुक्रबार होली मनाइँदै छ ।

स्वास्थ्यका मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली मनाउन आग्रह

होली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ । उहाँहरुले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गर्नुभएको छ ।

साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Next Post

कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने

३ चैत्र २०७८, बिहीबार ०७:४८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ देखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड […]

सम्बन्धित समाचार