सामग्री सहयोग भन्दा नगद रकम दिन मुख्यमन्त्री शाही द्धारा आग्रह

कृष्ण शर्मा १७ भाद्र २०७८, बिहीबार १४:४७

सुर्खेत – कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग भन्दा नगद रकम दिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् । सामग्री आउँदा गोदाममै थन्क्याउनु पर्ने अवस्था आएकोले सहयोगी संघ संस्थाहरुलाई नगद रकम दिन मुख्यमन्त्री शाहीले आग्रह गरेका हुन् ।

प्रतिमान निमा स्मृति फाउण्डेशनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री बुझ्दै मुख्यमन्त्री शाहीले भने, ‘आवश्यकताभन्दा बढी स्वास्थ्य सामग्रीहरु सहयोग गर्न थालियो । यसरी सहयोग दिनुभन्दा नगद दिएमा त्यसबाट आवश्यक सामग्री खरिद गर्नमा सहजता हुन्छ ।’

मुख्यमन्त्री शाहीले नगद रकम सहयोग गरेमा सरकारले कुन ठाउँमा के आवश्यक छ त्यसका आधारमा आफै सामग्री खरिद गर्ने बताए । ‘सबैले एकै प्रकारको सामान दिँदा कहिले काँही त्यो धेरै भइहाल्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘नगद रकम सरकारलाई दिएपछि सरकारले आवश्यकताअनुसार सामग्रीको खरिद गर्नमा सहजता हुन्छ ।’ सबै संघ संस्थाले सहयोग गर्नुपूर्व कुन प्रदेशमा के आवश्यकता छ र कस्तो सामग्री सहयोग गर्दा राम्रो हुन्छ भनेर समन्वयमा गरेमा प्रभावकारी हुने मुख्यमन्त्रीको भनाई थियो ।

प्रतिमान निमा स्मृति फाउण्डेशनले बिहीबार मुख्यमन्त्री शाहीलाई एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Next Post

पार्टीलाई सबल र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्व आवश्यक;रामचन्द्र पौडेल

१७ भाद्र २०७८, बिहीबार १४:४७
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कार्यकर्तालाई कसैको दबाब र प्रभावमा नपरी महाधिवेशन सम्पन्न गर्ने बाटोमा लाग्न आह्वान गरेका छन्। शुक्रबारदेखि देशव्यापी रूपमा सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन सन्देशमार्फत आफ्ना कार्यकर्ताहरूलाई निर्णय लिएर अघि बढ्न आग्रह गरेका हुन्। नेता पौडेलले भनेका छन्, ‘यो अवस्थामा हामीले […]