सल्यान । दशैँ लागिसकेकाले सडकमा सवारीसाधनको चाप बढी छ । तर, वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारीसाधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्नुपरिरहेको छ ।
राप्ती लोकमार्गसँगै अन्य ग्रामीण सडक मर्मत नहुँदा यात्रुले सास्ती खेप्नुपर्ने त छँदैछ, यात्रामा बढी समय खर्चनु परेको पनि छ । अझ ग्रामीण सडकभन्दा पनि धेरै त राप्ती राजमार्ग नै बिग्रिएको चालकहरू बताउँछन । कपुरकोट आसपासमा खसिरहने पहिरोले यात्रु र चालकलाई धेरै सास्ती दिएको चालक रविन्द्र श्रेष्ठले बताउनुभयो । सडकको स्तरोन्नती नहुँदा जोखिम मोलेर गाडी चलाइरहेको उहाको भनाइ छ
पहिरो झरेका र सडक बगेका ठाउँमा कामचलाउ मर्मत गरी सवारी सञ्चालन गरेको उहाले बताउनुभयो । तर, दोहोरो आवागमनमा समस्या हुने गरेको उहाले बताउनुभयो । खाल्डाखुल्डी गनेर साध्य छैन, सडकमा खाल्डो हो कि खाल्डोमा सडक हो छुट्याउन गाह्रो छ,उहाले भन्नुभयो । सल्यान सदरमुकाम खलंगाबाट ३ घण्टाको यात्रामा पुगिने दाङ तुलसीपुर जान आजभोलि ५ घण्टाभन्दा बढी लाग्ने अर्का बसचालक केशरबहादुर बुढाथोकीले बताउनुभयो ।
खाल्डाखुल्डीका कारण बढी समय लाग्ने, गाडी टुटफुट हुने र दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको उहाको गुनासो छ । सडक खन्ने जोड दिने तर खनेका सडकको मर्मतसम्भार र स्तरोन्नति गर्नेतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय दिलमाया वलीले गुनासो गर्नुभयो ।
वर्षाले क्षतविक्षत भएका सडक चाडपर्व आइसक्दासमेत मर्मत नभएको यात्रुहरूको भनाइ छ । सडक राम्रो नहुँदा बिरामी र वृद्धवृद्धालाई धेरै कठिनाइ हुने गरेको वलीले बताउनुभयो ।
बनाइएका सडकमा नियमित गाडी सञ्चालन गर्न पालिका र प्रदेशले सामान्य स्तरवृद्धि गरिरहेको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । गाउँपालिकाको केन्द्रसम्म नियमित गाडी सञ्चालन गर्न सीमित बजेटका बाबजुद विगतदेखि नै लगानी गर्दै आइरहेको बताउँदै उहाले चाडपर्वअघि नै मुख्य मुख्य सडक मर्मतसम्भार गरिसक्ने दाबी गर्नुभयो ।