नेपाल पञ्चाङ्ग निर्णायक समितिद्धारा बडादशैँका विभिन्न साइत सार्वजनिक ।।

टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

कर्णालीदृष्टी संवाददाता ८ आश्विन २०७८, शुक्रबार १६:१५

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २२ गते शुक्रवार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उहाँले जानकारी दिनुभयो । असोज २५ गते सोमवार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलवार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा. अधिकारीले बताउनुभयो ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजा गरिन्छ ।

तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधवार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २८ गते बिहीवार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ ।

यद्यपि त्यस दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

Next Post

फैसला कार्यान्वयनमा उल्लेख्य काम गरेको भन्दै दैलेखका डीएसपी श्रेष्ठलाई कदरपत्र ।।

८ आश्विन २०७८, शुक्रबार १६:१५
दैलेख । फैसला कार्यान्वयनको काममा उल्लेख्य काम गरेको भन्दै जिल्ला अदालतले दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठलाई कदरपत्र दिएको छ । जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकको अवसरमा आज जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले कदरपत्र प्रदान गर्नुभएको हो । अदालतले कैद तथा जरिवाना फैसला गरेकाहरुको अभियुक्तहरुलाई पक्राऊ गरी बाँकी कैद र […]

सम्बन्धित समाचार