बाके राष्ट्रिय निकुञ्जमा बाघ नियन्त्रणमा आउन सकेन ।।

साभार ७ कार्तिक २०७८, आईतवार ०७:४७

बाके । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।

उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो । अहिले ती बाघ गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

पाडोलाई बाघले मारेर खाएको निकुञ्जले जनाएको छ । आहाराका लागि पाडो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो । निकुञ्जका रेन्जर राजन पण्डितले नियन्त्रणमा लिन समस्या भइरहेको बताउनुभयो ।

“बाघले पाडो मारेर खाएको छ, बाघमाथि निगरानी बढाएका छौँ”, उनले भने । पाडो मार्न आएका दुई बाघ क्यामेरामा कैद भएका छन् । बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको छ ।

यस्तै नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिकरूपमा खटिएका छन् । ठाउँ–ठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारी बाघको निगरानी गर्न खटिएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्वपश्चिम राजमार्गमा रातको समयमा साना सवारी साधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताए । निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ ।

गत आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । मान्छेलाई आक्रमण गर्नु अघि पाटेबाघले गाउँमै पसी एउटा गाई र एउटा बाछो मारेका थिए ।

पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जको उत्तरतर्फ बबई र दक्षिणपूर्वमा राप्ती नदी बगेको छ । निकुञ्जका कतिपय क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर समेत रहेको छ । #रासस

Next Post

कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै

७ कार्तिक २०७८, आईतवार ०७:४७
काठमाण्डौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको हो । तर, कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने सुरु हुन सकेको छैन । कांग्रेसले […]