रुकुमपश्चिम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु भएको छ । मुसीकोट नगरपालिका–१ मा अवस्थित कार्यालय परिसरमा एउटा पक्की र एउटा प्रिफ्याब संरचनासहित दुईवटा भवन निर्माण कार्य अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालयको पुरानो भवन २०८० कात्तिक १७ गते आएको भूकम्पका कारण क्षतिग्रस्त भएपछि कार्यालय सञ्चालन, सामग्री भण्डारण तथा प्रहरी आवासमा समस्या हुँदै आएको थियो । भूकम्पपछि कार्यालयका सामग्री तथा ब्यारेक भाडाका घरमा राख्नुपर्ने अवस्था सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार पक्की भवन निर्माणका लागि पाँच करोड ४२ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । पक्की भवन निर्माण कार्य सुरु भएको १५ महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । उक्त भवन निर्माणको ठेक्का एमपी कन्स्ट्रक्सनले पाएको छ । भवन निर्माण नेपाल सरकारले विनियोजन गरेको बजेटमार्फत सुरु गरिएको हो ।
यसका साथै जिल्ला प्रहरी कार्यालयका लागि प्रिफ्याब संरचनाको अर्को भवन निर्माण पनि सुरु भएको छ । नेपाल सरकारको समन्वयमा जापान सरकार, युएनडिपी तथा युएन–ह्याबिट्याटको सहयोगमा उक्त भवन निर्माण अघि बढाइएको हो । फिक्सिट इन्जिनियरिङ प्रालिले निर्माणको जिम्मा पाएको यस भवन आगामी चैत मसान्तभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । प्रिफ्याब भवनको लागत ३५ लाख ६२ हजार ११२ रुपैयाँ रहेको छ । यो भवन जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा जीविकोपार्जन सुधार तथा विपद् उत्थानशील सुदृढीकरण परियोजना अन्तर्गत निर्माण हुन थालेको हो ।
भूकम्पका कारण जिल्ला प्रहरी कार्यालय लामो समयदेखि भौतिक पूर्वाधार अभावमा रहँदै आएको थियो । नयाँ भवन निर्माणपछि कार्यालय सञ्चालनमा देखिएको पूर्वाधार अभावको समस्या समाधान हुने विश्वास गरिएको डिएसपी विष्टले बताउनुभयो । यद्यपि, जिल्ला प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरू भने अझै पनि भवन अभावकै बीच सेवा प्रवाह गरिरहेका छन् । कतिपय स्थानमा जीर्ण भवनमै जोखिम मोलेर प्रहरी कार्यालय सञ्चालन भइरहेको छ भने कतै भाडाका घरबाट सेवा प्रवाह भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



