वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले हानिन् ढुंगा ।

कर्णाली दृष्टि संवाददाता १ कार्तिक २०७७, शनिबार १८:२७

कैलालीमा वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरबीच विवाद भएको छ।

घोडाघोडी नगरपालिकाका उपमेयर प्रेमकुमारी थापाले वडा कार्यालयको भवनमा बनाइएको शिलालेखमा आफ्नो नाम नराखेको भन्दै विरोध जनाएकी हुन्।

शनिबार बिहान घटस्थापनाको अवसर पारी वडा नम्बर ५, ७ र १२ का कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो।

मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर थापाले शिलालेखमा आफ्नो नाम छुटाएको भन्दै आपत्ति जनाएकी थिइन्।

उनले शिलालेखमा ढुंगा र मुड्कीले प्रहार गरेकी थिइन्।

उपमेयर थापाले शिलालेखमा कसको नाम राख्ने भन्ने विषयमा यसअघि आफूलाई जानकारी नदिएकोले विरोध गरेको बताइन्।

उनले आफू अनुगमनमा गएका बेला शिलालेख हेर्न नदिएको समेत आरोप लगाइन्।

‘मेयरको नाम छ, वडा अध्यक्ष र सदस्यको नाम छ अनि मेरो मात्र किन छुटाएको भनेर विरोध गरेकी हुँ,’ उनले भनिन्।

थापाले शिलालेख सच्याउन भन्दै नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरलाई फोन गर्दा जानीजानी छुटाएको भनेर उल्टै हप्काएको आरोप लगाइन्।

‘मैले आफ्नो अपमान गरेको महशुस गरेर उद्घाटनका बेलामा शिलालेखमा ढुंगाले हानें, सके त फुटाउँथें,’ उनले भनिन्।

शिलालेखमा नाम थप्ने सहमति भएको उपमेयर थापाको दाबी छ।

‘२–३ दिनमा नाम थप्ने सहमति भएकाले आज तीनै वडाको भवन उद्घाटन भइसक्यो,’ उनले भनिन्।

तर मेयर चौधरीले भने शिलालेख सच्याउने विषयमा कुनै सहमति नभएको बताएका छन्।

‘वडा समितिले बनाउने हो, यसबारे मैले भन्ने होइन,’ उनले भने।

मेयर चौधरीले उपमेयरको कुनै अपमान नगरेको दाबी गरेका छन्।

‘उहाँले अनावश्यक विवाद गर्नुभएको हो, यसको केही समाधान छैन,’ उनले भने।

Next Post

जिल्ला अस्पताल दैलेख सिल।

१ कार्तिक २०७७, शनिबार १८:२७
दैलेख ।  जिल्ला अस्पताल दैलेखमा कार्यरत एक जना चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार आएको पिसिआर रिपोर्टअनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. निरञ्जन पन्तले […]

सम्बन्धित समाचार