आँखाको ज्योति पाएपछी जुम्लाका स्थानीय खुसी

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार १२:०९

जुम्ला । चन्दननाथ नगरपालिका ७ मिचा गाउँकी ८० वर्षीया मागी सार्की पुनः आँखाको ज्योति पाउँदा खुसी व्यक्त गरेकिछिन्। शल्यक्रियापछि उनी आँखा देख्न सक्ने भएकी छन्। उनले मोतीविन्दुका कारण आँखा देख्न छाडेको २ वर्ष भइसकेको थियो।

उनी छोरीको सहारामा सदरमुकाम खलंगा पुगेकी थिइन्। उनले खुसी हुँदै भनिन्, ‘फेरि देख्न सक्ने भएँ। नयाँ जीवन पाएजस्तो लागेको छ।’

आँखा देख्न सक्ने भएपछि उनी लौरो टेक्दै घर फर्किन्। उनले भनिन्, ‘हामीसँग पर्याप्त पैसा पनि थिएन। आँखाको शल्यक्रिया गर्न धेरै खर्च लाग्ला भनेर यत्तिकै बसेकी थिएँ।’

उनले गाउँमै आँखाको शल्यक्रिया गर्न पाउँदा अझ धेरै खुसी लागेको बताइन्। उनले भनिन्, ‘हामीजस्तालाई त शिविरले धेरै सहज बनाइदिएको छ।’

त्यस्तै तिला गाउँपालिका–८ पुरु गाउँका ८९ वर्षीय सुर्ती बस्नेत आँखाको ज्योति फर्किएकोमा हर्षित छन्। उनका दुवै आँखा बन्द भएको चार वर्ष भइसकेको थियो। ‘आँखाभन्दा ठूलो केही रहेनछ’, उनले भने, ‘ज्योति फर्काउने डाक्टरलाई भगवान्ले रक्षा गरून्।’

चन्दननाथ नगरपालिका–७ मिचा गाउँका ७२ वर्षीया हर्क सार्की पनि खलंगा आँखा शिविरले दृष्टि फर्काइदिएकोमा खुसी छन्। उनी तीन वर्षअघिसम्म धमिलो देख्दै थिइन्। आँखामा समस्या आएपछि उनले दुवै आँखा देख्न छाडेकी थिइन्। ‘अब देख्न पाइँदैन जस्तो लागेको थियो’, उनले भनिन्, ‘जति बाँच्छु त्यतिञ्जेल देख्न पाउँछु भन्ने लागेको छ।’

यस्तै पातारासी ६ उर्थु गाउँकी ५९ वर्षीया धनकला थापा शल्यक्रियापछि आँखाको ज्योति पाएपछि प्रसन्न भइन्। उनले खुसी हुँदै शल्यक्रिया गर्ने डाक्टरलाई स्थानीय लबजमा आशिष दिइन्, ‘तुम्मो सधैं भलो होस्।’

खेतपाखो बेचेर खर्च गर्दा पनि नपाइने आँखाको ज्योति पाएकोमा आफूलाई औधि खुसी लागेको उनले बताइन्।

खलंगामा सञ्चालित आँखा शिविर ४१औं भएको नेपाल नेत्र ज्योति संघ जुम्लाका सभापति जगदीश चौंलागाईले बताए। शिविरमा जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको चन्दननाथ आँखा अस्पताल उपचार केन्द्र जुम्लाका प्रमुख कालिबहादुर रावतले बताए।

नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजना, र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक तथा रिडको आई फाउन्डेसन नेपालको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो। शिविर चैत १६ देखि १८ सम्म सञ्चालन गरिएको थियो।

Next Post

कर्णाली प्रदेश सरकारमा एमालेले दाबी पेस गर्दै

२२ चैत्र २०८०, बिहीबार १२:०९
सुर्खेत । कर्णाली प्रदेशसभा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिभएको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । उनले नेपालको संविधानको धारा १६८ […]