दैलेखमै पहिलो पटक अक्सिजन प्लान्ट जडान

कर्णालीदृष्टी संवाददाता ११ कार्तिक २०७८, बिहीबार ०७:४२

दैलेख । दैलेखमा पहिलो पटक अक्सिजन प्लान्ट जडान भएको छ । जिल्लाकै ठुलो अस्पताल दैलेख जिल्ला अस्पतालमा बुधवार देखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।

अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ । जिल्ला अस्पताल दैलेखमा जडान भएको अक्सिजन प्लान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताउनुभयो ।

उहाका अनुसार यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ । करिव ७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान भएको हो ।

गत असारमै टेन्डर भएर अक्सिजन प्लान्ट आइसकेको भए पनि राख्ने भवन नहुँदा थन्किएको थियो । अहिले भवन तयार भई जडानको काम सकिएसँगै उत्पादन समेत सुरु भएको बताइएको छ ।

कोरोनाको दोस्रो लहरको बेला अक्सिजनका लागि नेपालगन्जसम्म धाउनुपर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट राख्नका लागि पहल थालिएको थियो ।

अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरुभएसँगै दैलेख अस्पताल, दुल्लु अस्पताल लगायत स्थानीय तह मातहतका अस्पतालहरूमा अक्सिजन अभावको समस्या समाधान हुने स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

Next Post

मेला हेर्न रुकुम गएकी जाजरकोटकी किशोरी बलात्कृत

११ कार्तिक २०७८, बिहीबार ०७:४२
रुकुम पश्चिम – रुकुमको आठबीसकोटमा एक किशोरी बलात्कृत भएकी छिन् । जाजरकोटको नलगाड नगरपालिका १ की १४ वर्षीया किशोरी हिजो बुधवार बेलुका आठबीसकोट नगरपालिका १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । रुकुममा लागेको मेलाको अवसरमा भलिबल हेर्न जाजरकोटबाट आएकी ती किशोरीलाई आठबीसकोट १४ पिपलचौरका २६ […]